मधेशसमाचार

सिम्रौनगढ नाकामा खुलेआम तस्करीको आरोप, सुरक्षाकर्मीको संलग्नतामाथि गम्भीर प्रश्न

बारा , १० चैत

भारतसँग जोडिएको बारा जिल्लाको सिम्रौनगढ नाका तथा आसपासका सीमावर्ती क्षेत्रमा व्यापक तस्करी भइरहेको आरोप सार्वजनिक भएको छ। स्थानीय स्रोत र सरोकारवालाहरूका अनुसार प्रहरीकै संरक्षणमा अवैध कारोबार फस्टाउँदै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरिएको छ।

विशेषगरी सिम्रौनगढ नाका हुँदै दिनरात तस्करी हुने गरेको स्थानीयको दाबी छ। सीमावर्ती क्षेत्र पिपरपाती, कचोर्वा, झवानी, अमरपुर, सतुवाही, कवलपुर, बैरिया र बेल्दारीलगायतका नाकाबाट अवैध सामानको आवतजावत निरन्तर भइरहेको बताइएको छ। खुला सीमा व्यवस्थाको फाइदा उठाउँदै तस्कर समूह सक्रिय रहेको र निगरानीका लागि खटिएका सुरक्षाकर्मी प्रभावकारी हुन नसकेको आरोप लागिरहेको छ।

स्रोतका अनुसार सिम्रौनगढ क्षेत्रका एक प्रहरी जवान छोटेलाल कुर्मीको मिलेमतोमा तस्करी धन्धा सञ्चालन भइरहेको दाबी गरिएको छ। यद्यपि, यस विषयमा आधिकारिक पुष्टि भने हुन सकेको छैन। तर स्थानीयहरूले रातिको समयमा पिकअप, मोटरसाइकल तथा अन्य सवारीसाधनमार्फत सामान ओसारपसार हुने गरेको बताएका छन्।

भारतबाट कपडा, चिनी, स्पेयर पार्ट्स, खैनी, गुट्खालगायतका सामग्री भन्सार छलेर नेपाल भित्र्याइने र ती सामानहरू कलैया, सिमरा, चन्द्रनिगाहपुर हुँदै हेटौंडा सम्म पुग्ने गरेको बताइएको छ। त्यसैगरी नेपालबाट मदिरा तथा केही चिनियाँ सामान भारततर्फ अवैध रूपमा पठाइने गरिएको आरोप छ।

यसैबीच, सीमावर्ती क्षेत्रका विभिन्न व्यक्तिहरूको संलग्नतामा संगठित गिरोह सक्रिय रहेको दाबीसमेत गरिएको छ। केही भारतीय र नेपाली नागरिकहरूको समूहले सुरक्षाकर्मीलाई आर्थिक प्रभावमा पारेर तस्करी गरिरहेको स्रोतको भनाइ छ। कुखुरा तथा चल्लाको समेत अवैध ओसारपसार हुने गरेको उल्लेख गरिएको छ।

नेपाल सरकारले सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रणका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरे पनि प्रभावकारी नियन्त्रण हुन नसकेको भन्दै स्थानीय तहमा असन्तोष बढ्दै गएको छ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय बाराले औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन। तर, सार्वजनिक रूपमा उठेका यस्ता गम्भीर आरोपबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सरोकारवालाहरूले माग गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button