
रौतहट, २७ जेठ
नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले ईशनाथ नगरपालिकाले घरमै राहदानी (पासपोर्ट) वितरण गर्ने नवीन तथा जनमुखी सेवा सञ्चालनमा ल्याएको छ। स्थानीय सरकारको सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने अभियानअन्तर्गत नगरपालिकाले हुलाक सेवासँगको सहकार्यमा राहदानी घरदैलोमै पुर्याउने व्यवस्था सुरु गरेको हो।
सरकारले अवलम्बन गरेको “सेवा घरदैलोमै” भन्ने अवधारणालाई व्यवहारमा उतार्दै ईशनाथ नगरपालिकाले नागरिकलाई कार्यालयसम्म धाउनुपर्ने बाध्यता कम गर्ने महत्वपूर्ण कदम चालेको छ। राहदानी तयार भएपछि सेवाग्राही स्वयं कार्यालय वा जिल्ला सदरमुकामसम्म पुगेर बुझ्नुपर्ने झन्झट अन्त्य गर्दै अब हुलाक सेवामार्फत नागरिकको घरमै राहदानी पुर्याइने भएको छ।
यस कार्यक्रमअन्तर्गत आज आयोजित एक कार्यक्रममा ईशनाथ नगरपालिकाकी नगर प्रमुख कौशल्या देवी, प्रमुख प्रशासकीय अधिकृत मो. नवाज हुसैन तथा हुलाक कार्यालय प्रमुख देवनाथ यादव को उपस्थितिमा सेवाग्राहीलाई राहदानी हस्तान्तरण गरिएको थियो। कार्यक्रममा बोल्दै नगर प्रमुख कौशल्या देवीले नागरिकलाई सहज सेवा प्रदान गर्नु स्थानीय सरकारको प्रमुख दायित्व भएको उल्लेख गर्दै आगामी दिनमा पनि प्रविधिमैत्री तथा जनअपेक्षाअनुसारका सेवाहरू विस्तार गरिने बताइन्।
प्रमुख प्रशासकीय अधिकृत मो. नवाज हुसैनले प्रशासनिक सेवामा नवप्रवर्तन आवश्यक रहेको उल्लेख गर्दै नागरिकको समय, श्रम र खर्च बचत गर्ने उद्देश्यले राहदानी वितरण सेवा सुरु गरिएको जानकारी दिए। उनले स्थानीय सरकार नागरिकको आवश्यकतालाई केन्द्रमा राखेर काम गरिरहेको पनि बताए।
विशेषगरी वैदेशिक रोजगारी, उच्च शिक्षा, व्यवसाय तथा अन्य विभिन्न प्रयोजनका लागि राहदानी आवश्यक पर्ने नागरिकहरूका लागि यो सेवा निकै उपयोगी सावित हुने अपेक्षा गरिएको छ। विगतमा राहदानी लिन जिल्ला सदरमुकाम वा सम्बन्धित कार्यालयसम्म पुग्नुपर्ने अवस्था रहेकामा अब घरमै राहदानी प्राप्त गर्न सकिने भएपछि सेवाग्राहीहरू उत्साहित भएका छन्।
स्थानीयवासीका अनुसार हुलाकमार्फत घरमै राहदानी प्राप्त हुँदा यात्रा खर्च, समय तथा अन्य झन्झट कम भएको छ। ग्रामीण भेगका नागरिक, ज्येष्ठ नागरिक, महिला तथा दैनिक रोजगारीमा व्यस्त व्यक्तिहरूका लागि यो सेवा अझ बढी लाभदायक बनेको उनीहरूको भनाइ छ।
नागरिकमैत्री सेवा प्रवाहका दृष्टिले ईशनाथ नगरपालिकाको यो पहल उदाहरणीय मानिएको छ। स्थानीय तहले प्रविधि, हुलाक सेवा तथा प्रशासनिक संयन्त्रको प्रभावकारी उपयोग गर्दै जनतालाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम सञ्चालन गर्न सकिने सन्देश यस अभियानले दिएको छ।
सुशासन, उत्तरदायित्व र नागरिक सन्तुष्टिलाई केन्द्रमा राखेर अघि बढाइएको घरमै राहदानी वितरण सेवा स्थानीय सरकारको प्रभावकारी कार्यशैलीको उदाहरण बनेको छ। यस प्रकारका जनमुखी कार्यक्रमले नागरिक र सरकारबीचको विश्वास अझ मजबुत बनाउनुका साथै सेवा प्रवाहलाई आधुनिक, पारदर्शी र पहुँचयोग्य बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।



