
रौतहट, २९ जेठ
वृन्दावन नगरपालिकाले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले नगरभित्रका सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको विशेष बैठक सम्पन्न गरेको छ।
नगरपालिकाको आयोजनामा सम्पन्न बैठकमा शैक्षिक सत्र २०८२ को समग्र समीक्षा, परीक्षाफलको विश्लेषण, विद्यालय तथा विद्यालय प्रशासनले भोगिरहेका समस्या, नगरपालिकासँगको सहकार्यका अपेक्षा तथा आगामी शैक्षिक सत्र २०८३ का लागि आवश्यक योजना र कार्यक्रमबारे विस्तृत छलफल गरिएको थियो।
बैठकमा विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि, शिक्षकहरूको पेशागत दक्षता अभिवृद्धि, शैक्षिक वातावरण सुधार तथा शिक्षक र विद्यार्थीलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालनका विषयमा समेत निर्णय गरिएको नगरपालिकाले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा नगर प्रमुख विनोद प्रसाद कुर्मीले गुणस्तरीय शिक्षा स्थानीय विकासको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै सामुदायिक विद्यालयको शैक्षिक स्तर उकास्न नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले आगामी दिनमा शिक्षामा थप लगानी गर्दै विद्यालयको शैक्षिक तथा प्रशासनिक सुधारलाई प्राथमिकतामा राखिने जानकारी दिनुभयो।
सोही अवसरमा नगर प्रमुख कुर्मीले सहभागी सम्पूर्ण प्रधानाध्यापकहरूलाई झोला (ब्याग) वितरण गर्नुभएको थियो।
कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत श्याम किशोर प्रसाद साहको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नगर प्रमुखका सल्लाहकार प्रेमलाल पटेल र रामकल्याण यादवको विशेष उपस्थिति रहेको थियो भने शिक्षा शाखाका सह–संयोजक जयप्रकाश पटेलले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो।
बैठकमा सहभागी प्रधानाध्यापकहरूले विद्यालय सञ्चालनका क्रममा देखिएका चुनौती, भौतिक पूर्वाधारको आवश्यकता, शैक्षिक सामग्री व्यवस्थापन तथा विद्यार्थीको सिकाइ स्तर सुधारका विषयमा आफ्ना धारणा राखेका थिए। उनीहरूले स्थानीय सरकारसँग थप समन्वय र सहयोगको अपेक्षा समेत व्यक्त गरेका थिए।
नगरपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार, शिक्षक क्षमता विकास तथा विद्यार्थीको सिकाइ उपलब्धि बढाउने लक्ष्यसहित विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।



