
बारा, २९ जेठ
फेटा गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आधारभूत शैक्षिक सुविधाको अभाव झेल्नुपरेको भन्दै बिहीबार गाउँपालिका कार्यालय घेराउ गरेका छन् । शैक्षिक सत्र सुरु भएको लामो समय बितिसक्दा पनि विद्यार्थीहरूले पाठ्यपुस्तक नपाउनु, विद्यालयहरूमा पंखा लगायतका आवश्यक सुविधा नहुनु तथा शिक्षा क्षेत्रप्रति स्थानीय तहको उदासीनता देखिएको आरोप लगाउँदै विद्यार्थीहरूले करिब एक घण्टासम्म गाउँपालिका कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।
विद्यार्थीहरूको विरोधपछि गाउँपालिका अध्यक्ष रूस्तम अन्सारीले समस्या समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिएपछि प्रदर्शनकारी विद्यार्थीहरू फर्किएका थिए । तर विद्यार्थीहरूले उठाएका मागहरू तत्काल सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएका छन् ।
यसैबीच युवा नेता उमेश दुबेले शिक्षा क्षेत्रको अवस्था प्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया जनाएका छन् । उनले विद्यार्थीहरूको भविष्यसँग खेलवाड भइरहेको आरोप लगाउँदै सम्बन्धित निकायलाई तत्काल जिम्मेवार बन्न आग्रह गरेका छन् ।
उनले आफ्नो सार्वजनिक धारणा मार्फत भनेका छन्, “शैक्षिक सत्र सुरु भएको महिनौँ बितिसक्दा पनि विद्यार्थीहरूले समयमा पाठ्यपुस्तक पाउन सकेका छैनन् । एकातिर किताबको अभाव छ भने अर्कोतर्फ चर्को गर्मीमा कक्षाकोठाभित्र पंखासम्मको व्यवस्था छैन । यस्तो अवस्थालाई शिक्षाप्रतिको जिम्मेवारी भन्ने कि लापरवाही ?”
दुबेले विद्यालयहरूमा आधारभूत सुविधा उपलब्ध नगराई गुणस्तरीय शिक्षाको भाषण गर्नु केवल औपचारिकतामा सीमित रहेको टिप्पणी गरेका छन् । उनका अनुसार विद्यार्थीहरू शिक्षा हासिल गर्न विद्यालय जाने भए पनि उनीहरूलाई आवश्यक वातावरण नदिइनु सम्बन्धित निकायको गम्भीर असफलता हो ।
उनले स्थानीय सरकारलाई चेतावनीपूर्ण शैलीमा सम्बोधन गर्दै विद्यार्थीहरूको समस्या तत्काल समाधान गर्न माग गरेका छन् । “विद्यार्थीहरूको भविष्यसँग खेल्ने अधिकार कसैलाई छैन । जिम्मेवार निकायहरू तत्काल जवाफदेही बनून्, किताबको व्यवस्था गरून् र विद्यालयमा आवश्यक सुविधा उपलब्ध गराऊन् । अन्यथा विद्यार्थी, अभिभावक र जनताले प्रश्न मात्र होइन, हिसाब पनि माग्नेछन्,” उनले उल्लेख गरेका छन् ।
स्थानीय अभिभावक तथा सरोकारवालाहरूले पनि विद्यालयहरूमा देखिएको समस्या समाधान गर्न गाउँपालिकाले विशेष प्राथमिकता दिनुपर्ने बताएका छन् । शिक्षा जस्तो संवेदनशील क्षेत्रमा देखिएको लापरवाहीले विद्यार्थीहरूको भविष्य नै प्रभावित हुन सक्ने भन्दै उनीहरूले तत्काल सुधारात्मक कदम चाल्न माग गरेका छन् ।
फेटा गाउँपालिकामा शिक्षा सुधारको दाबी भइरहेका बेला विद्यार्थीहरू नै आधारभूत सुविधाबाट वञ्चित भएको विषयले स्थानीय तहको कार्यशैलीमाथि गम्भीर प्रश्न खडा गरेको छ । अब गाउँपालिकाले आफ्नो प्रतिबद्धता व्यवहारमा उतार्दै विद्यार्थीहरूको समस्या समाधान गर्न कति तत्परता देखाउँछ भन्ने विषयलाई स्थानीयवासीहरूले चासोका साथ हेरेका छन् ।



