मधेशसमाचार

प्रसौनी गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

बारा , ३० जेठ

प्रसौनी गाउँपालिकाले “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप पालिका हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा सभा भव्य रूपमा सम्पन्न गरेको छ।
गाउँपालिकाको स्वास्थ्य शाखाद्वारा आयोजित कार्यक्रममा गाउँपालिका क्षेत्रभित्रका सबै लक्षित बालबालिकाले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गतका सम्पूर्ण खोप प्राप्त गरेको सुनिश्चित भएपछि गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिकाका रूपमा घोषणा गरिएको हो।
गाउँपालिका भवनमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष विनोद प्रसाद जैसवालले पूर्णखोप अभियान बालबालिकाको स्वास्थ्य सुरक्षासँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण कार्यक्रम भएको बताउँदै यसको दिगोपनाका लागि स्थानीय तह, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा समुदायको निरन्तर सक्रियता आवश्यक रहेको धारणा व्यक्त गरे। उनले आगामी दिनमा पनि गाउँपालिकाले नियमित खोप सेवाको पहुँचलाई थप प्रभावकारी बनाउँदै कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित नहुने वातावरण सिर्जना गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष किरण देवी साह, प्रमुख प्रशासकीय अधिकृत नवीन श्रीवास्तव, खोप समन्वय समितिका प्रमुख तथा स्वास्थ्य कार्यालय बाराका अधिकृत भागिरथ चौधरी, सातवटै वडाका वडा अध्यक्ष, विभिन्न शाखाका प्रमुख तथा कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
स्वास्थ्य कार्यालय बाराका अधिकृत भागिरथ चौधरीले पूर्णखोप सुनिश्चितता घोषणा केवल औपचारिकता नभई बालबालिकाको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण उपलब्धि भएको बताए। उनले खोपबाट बच्न सकिने रोगहरूको नियन्त्रण तथा उन्मूलनका लागि नियमित खोप कार्यक्रमलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा सहभागीहरूले स्थानीय स्रोतको अधिकतम परिचालन, समुदायको स्वामित्व तथा सक्रिय सहभागितामार्फत पूर्णखोप अभियानलाई दिगो र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। साथै, नवजात शिशुदेखि लक्षित उमेर समूहका सबै बालबालिकालाई नियमित रूपमा खोपको पहुँचमा ल्याउन सामूहिक प्रयास जारी राख्ने प्रतिवद्धता जनाइएको थियो।
गाउँपालिकाका अनुसार खोप सुनिश्चिततासम्बन्धी विभिन्न सूचकहरूको मूल्याङ्कन, घरधुरी प्रमाणीकरण तथा स्वास्थ्य संस्थाबाट प्राप्त तथ्यांकको आधारमा सबै लक्षित बालबालिकाले आवश्यक खोप प्राप्त गरेको पुष्टि भएपछि पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।
कार्यक्रमको सञ्चालन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश साहले गरेका थिए भने स्वागत मन्तव्य सिनियर अहेव प्रमिला कुमारी साहले व्यक्त गरेकी थिइन्। कार्यक्रमले बालबालिकाको स्वास्थ्य संरक्षण तथा समुदायस्तरमा खोपप्रतिको जनचेतना अभिवृद्धिमा थप टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button