मधेशसमाचार

उपसचिव नवराज अधिकारीको आगमनसँगै सिम्रौनगढ नगरपालिकाको प्रशासनिक गतिशीलता 

बारा , ३० जेठ

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको २०८३ साल वैशाख २ गतेको निर्णयअनुसार रक्षा मन्त्रालयबाट सरुवा भई सिम्रौनगढ नगरपालिकामा खटिएका उपसचिव नवराज अधिकारीले जेठ २१ गते प्रमुख प्रशासकीय अधिकृतका रूपमा पदभार ग्रहण गरेपछि नगरपालिकाको प्रशासनिक गतिविधिमा थप गतिशीलता देखिन थालेको छ।

लामो समयदेखि विभिन्न विवाद, प्रशासनिक असमझदारी तथा पटक–पटक हुने तालाबन्दीका कारण चर्चामा रहने गरेको सिम्रौनगढ नगरपालिकाले पछिल्लो समय प्रशासनिक स्थायित्व र सेवाप्रवाहमा सुधारको संकेत देखाउन थालेको स्थानीयवासी तथा सरोकारवालाहरू बताउँछन्।

उपसचिव अधिकारी नगरपालिकामा हाजिर हुनुअघि निमित्त प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत प्रशासनतर्फका आठौं तहका कर्मचारी बिरबहादुर साह लहेराले करिब पाँच महिनासम्म नगरपालिकाको प्रशासनिक जिम्मेवारी सम्हालेका थिए। स्रोतका अनुसार साह लहेराले चुनौतीपूर्ण परिस्थितिमा पनि संयमता, पारदर्शिता र समन्वयात्मक शैली अपनाउँदै नगरपालिकाको दैनिक प्रशासन सञ्चालन गरेका थिए।

नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा उपसचिव अधिकारीको आगमनसँगै प्रशासनिक नेतृत्वले थप मजबुती पाएको कर्मचारीहरूको भनाइ छ। अनुभवी प्रशासनिक अधिकृतका रूपमा परिचित अधिकारीले कर्मचारीबीच समन्वय, सुशासन र सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम सुरु गरेपछि कार्यालयको कार्यसम्पादनमा सकारात्मक प्रभाव देखिन थालेको बताइन्छ।

नगरपालिकाका एक कर्मचारीका अनुसार उपसचिव अधिकारी र निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालिसकेका बिरबहादुर साह लहेराबीचको सहकार्य र समन्वयले कार्यालयको कार्यसम्पादनलाई थप प्रभावकारी बनाएको छ। “दुवै प्रशासनिक नेतृत्वबीच राम्रो समझदारी र सहकार्य देखिएको छ। यसले कर्मचारीलाई काम गर्न सहज वातावरण सिर्जना गरेको छ,” ती कर्मचारीले बताए।

स्थानीयवासीहरूका अनुसार विगतमा विभिन्न कारणले विवादको केन्द्र बन्ने गरेको नगरपालिकामा पछिल्लो समय प्रशासनिक अनुशासन कायम हुन थालेको छ। विकास निर्माणका योजना, राजस्व व्यवस्थापन, सेवा प्रवाह तथा कार्यालय सञ्चालनमा सुधारका संकेत देखिन थालेको उनीहरूको भनाइ छ।

उपसचिव अधिकारीले पदभार ग्रहण गरेपछि नगरपालिकामा सुशासन, पारदर्शिता, जवाफदेहिता र जनमुखी सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। स्थानीय तहको प्रभावकारी सञ्चालनका लागि जनप्रतिनिधि, कर्मचारी र नागरिकबीच सहकार्य आवश्यक रहेको उनको धारणा रहेको नगरपालिकाका स्रोतले जनाएको छ।

स्थानीय सरोकारवालाहरूले अनुभवी उपसचिवको नेतृत्वमा सिम्रौनगढ नगरपालिकाले विगतका विवाद र असहज अवस्थालाई अन्त्य गर्दै विकास, सुशासन र सेवा प्रवाहको नयाँ अध्याय सुरु गर्ने अपेक्षा व्यक्त गरेका छन्। नगरपालिकाको प्रशासनिक नेतृत्वमा देखिएको समन्वय र सकारात्मक वातावरणले आगामी दिनमा संस्थागत सुधार तथा जनविश्वास अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button