धार्मिक पर्यटकको आस्थामाथि उपहास होइन, आवश्यक छ उपयुक्त पूर्वाधार
वैष्णव सम्प्रदायका अनुयायीहरू सामान्यतया शुद्ध शाकाहारी हुन्छन्। उनीहरूले अण्डा, माछा, मासु मात्र होइन, धार्मिक यात्राका क्रममा लसुन र प्याजसमेत सेवन गर्दैनन्।

✍️ संजय तिवारी
नेपालमा पछिल्ला केही दिनयता सामाजिक सञ्जालमा भारतीय धार्मिक पर्यटकहरूको खानपान र व्यवहारलाई लिएर विभिन्न टिप्पणीहरू भइरहेका छन्। विशेषगरी पहाडी तथा धार्मिक मार्गहरूमा आफ्नै भाँडाकुँडा प्रयोग गरेर खाना पकाइरहेका भारतीय श्रद्धालुहरूको भिडियो र तस्वीर सार्वजनिक भएपछि कतिपयले उनीहरूको ‘सिभिक सेन्स’माथि प्रश्न उठाएका छन्। तर विषयलाई सतही रूपमा हेर्नुभन्दा त्यसको सामाजिक, धार्मिक र पर्यटनसम्बन्धी पाटोलाई बुझ्नु आवश्यक देखिन्छ।

भारतबाट नेपाल आउने अधिकांश धार्मिक पर्यटकहरू वैष्णव (वैष्णो) परम्परासँग सम्बन्धित हुने गरेका छन्। वैष्णव सम्प्रदायका अनुयायीहरू सामान्यतया शुद्ध शाकाहारी हुन्छन्। उनीहरूले अण्डा, माछा, मासु मात्र होइन, धार्मिक यात्राका क्रममा लसुन र प्याजसमेत सेवन गर्दैनन्। कतिपयले धार्मिक यात्राको अवधिभर विशेष प्रकारको भोजन विधि र शुद्धताको नियमसमेत पालना गर्ने गर्छन्।
नेपालका प्रमुख धार्मिक गन्तव्यहरू पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरधाम, देवघाट, मनकामना लगायतका स्थानमा प्रत्येक वर्ष लाखौं भारतीय श्रद्धालु दर्शनका लागि आउने गरेका छन्। उनीहरूमध्ये धेरैले आफ्नो धार्मिक आस्था र परम्पराअनुसार भोजन गर्न चाहन्छन्। तर नेपालका अधिकांश होटल, रेष्टुरेन्ट, खाजाघर तथा चियापसलहरूमा पूर्ण रूपमा शुद्ध शाकाहारी तथा ‘नो अनियन–नो गार्लिक’ भोजन सहज रूपमा उपलब्ध हुँदैन।
विशेषगरी पहाडी धार्मिक मार्ग र तीर्थस्थलहरूमा अण्डा, मासु, माछा वा अन्य मांसाहारी परिकार बिक्री नहुने भोजनालय भेट्टाउन निकै कठिन छ। फलस्वरूप धेरै श्रद्धालुहरूले यात्राका क्रममा आफूसँगै खाद्य सामग्री र भाँडाकुँडा बोकेर हिँड्ने तथा उपयुक्त स्थान भेटिएपछि समूहगत रूपमा खाना पकाएर खाने गरेका छन्।
पर्यटन व्यवसायसँग सम्बद्ध व्यक्तिहरूका अनुसार नेपालमा धार्मिक पर्यटनलाई व्यवस्थित बनाउन आवश्यक पूर्वाधारको अभाव छ। तीर्थयात्रीहरूका लागि छुट्टै सामुदायिक भान्सा, विश्रामस्थल, शुद्ध शाकाहारी भोजन केन्द्र वा सुरक्षित खाना पकाउने स्थानको व्यवस्था अधिकांश धार्मिक मार्गहरूमा छैन। यस्तो अवस्थामा यात्रुहरूले आफैंले भोजन तयार गर्नु बाध्यता पनि हुन सक्छ।
सामाजिक सञ्जालमा देखिएका केही दृश्यहरूलाई आधार बनाएर सम्पूर्ण भारतीय धार्मिक पर्यटकको व्यवहारमाथि टिप्पणी गर्नु उचित नहुने पर्यटन क्षेत्रका जानकारहरू बताउँछन्। उनीहरूका अनुसार धार्मिक आस्था अनुसार भोजन व्यवस्था गर्नु र सार्वजनिक स्थल फोहोर बनाउनु दुई फरक विषय हुन्। यदि कुनै पर्यटकले सार्वजनिक स्थानमा फोहोर फाल्छ, वातावरण प्रदूषित गर्छ वा स्थानीय नियम उल्लंघन गर्छ भने त्यसको आलोचना हुन सक्छ। तर केवल धार्मिक कारणले आफैं खाना पकाएको आधारमा उनीहरूलाई असभ्य वा ‘सिभिक सेन्स’ नभएको समूहका रूपमा चित्रण गर्नु उचित हुँदैन।
नेपालको पर्यटन उद्योगका लागि भारतीय पर्यटक महत्वपूर्ण आधार मानिन्छन्। नेपाल भ्रमण गर्ने विदेशी पर्यटकमध्ये भारतीयहरूको हिस्सा ठूलो छ। खुला सीमा, धार्मिक तथा सांस्कृतिक निकटता, पारिवारिक सम्बन्ध र भौगोलिक सहजताका कारण भारतबाट ठूलो संख्यामा पर्यटक नेपाल आउने गरेका छन्। तीमध्ये धार्मिक पर्यटकको संख्या उल्लेखनीय छ।
पर्यटन विज्ञहरूका अनुसार यदि नेपालले धार्मिक पर्यटनलाई थप प्रवर्द्धन गर्ने हो भने तीर्थयात्रीहरूको आवश्यकतालाई ध्यानमा राख्नुपर्ने हुन्छ। शुद्ध शाकाहारी भोजनालय, धार्मिक अनुकूल आवास, विश्रामस्थल, सार्वजनिक शौचालय तथा सामुदायिक भान्साजस्ता पूर्वाधार विकास गर्न सके धार्मिक पर्यटकको बसाइ अवधि र सन्तुष्टि दुवै बढ्न सक्छ।
सांस्कृतिक विविधता र धार्मिक स्वतन्त्रताको सम्मान लोकतान्त्रिक समाजको आधारभूत मूल्य हो। जसरी नेपाल भ्रमणमा आउने पश्चिमी मुलुकका पर्यटकको खानपान, जीवनशैली र संस्कृतिलाई सम्मान गरिन्छ, त्यसरी नै धार्मिक उद्देश्यले आउने भारतीय श्रद्धालुहरूको आस्था र जीवनशैलीलाई पनि सम्मान गर्न आवश्यक छ।
विश्लेषकहरूका अनुसार पर्यटन क्षेत्रको चुनौती पर्यटकको धार्मिक आस्थाको आलोचना गर्नु होइन, बरु उनीहरूको आवश्यकता अनुसार सेवा र पूर्वाधार उपलब्ध गराउनु हो। धार्मिक पर्यटनलाई आर्थिक समृद्धिको महत्वपूर्ण आधारका रूपमा लिइरहेको नेपालका लागि अबको आवश्यकता पर्यटकको आस्थामाथि टिप्पणी गर्नु भन्दा उनीहरूको आवश्यकतालाई सम्बोधन गर्ने नीति र संरचना निर्माण गर्नु रहेको उनीहरूको भनाइ छ।
धार्मिक पर्यटकको आस्था, स्थानीय समुदायको सुविधा र सार्वजनिक सरसफाइबीच सन्तुलन कायम गर्न सकिए मात्र धार्मिक पर्यटन दीगो र व्यवस्थित बन्न सक्ने देखिन्छ। नेपालले धार्मिक पर्यटनबाट अधिकतम लाभ लिन चाहन्छ भने आलोचनाभन्दा व्यवस्थापन र पूर्वाधार विकासतर्फ ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता बढ्दो रूपमा महसुस गरिएको छ।
ई-मेल: sanjaytiwari.bara@gmail.com



