
रौतहट ३ असार
मधेस प्रदेशको रौतहट जिल्लामा तीव्र रूपमा बढिरहेको सवारी दुर्घटना न्यूनीकरण गर्न तथा आम सर्वसाधारणमा ट्राफिक नियमप्रतिको सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सदरमुकाम गौरमा ट्राफिक सप्ताह २०८३ को औपचारिक सुरुवात गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको मुख्य संयोजन तथा स्थानीय प्रशासन, गौर नगरपालिका एवं विभिन्न सरोकारवाला निकायहरूको सक्रिय सहभागितामा बुधबार सदरमुकाम गौरमा एक भव्य प्रभातफेरी कार्यक्रमको आयोजना गरी अभियानको शुभारम्भ गरिएको हो।
विशेष ब्यानर र सडक सुरक्षासम्बन्धी सचेतनामूलक प्लेकार्डसहित निकालिएको उक्त प्रभातफेरीले गौर नगरका विभिन्न मुख्य भाग तथा चोकहरूको परिक्रमा गरी जनचेतना जगाएको थियो। प्रभातफेरीमा स्थानीय जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायका उच्च अधिकारी, यातायात व्यवसायी, नागरिक समाज र विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले मानवीय त्रुटि र ट्राफिक नियमको उपेक्षाका कारण पछिल्लो समय सडक दुर्घटना गम्भीर चुनौतीका रूपमा देखा परेको बताए। उनले भने, सडक दुर्घटना न्यूनीकरणका लागि केवल कानुन कार्यान्वयन मात्र पर्याप्त हुँदैन, यसमा हरेक नागरिकले आफ्नो जिम्मेवारी बुझ्नुपर्छ। ट्राफिक नियमको पालना गर्नु सबैको साझा दायित्व हो। यस्ता सचेतनामूलक अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने र नागरिकलाई जिम्मेवार बनाउन मद्दत पुग्ने विश्वास प्रजिअ भुसालले व्यक्त गरे।
त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले सुरक्षित र व्यवस्थित यातायात प्रणाली निर्माणका लागि स्थानीय सरकार सधैं सहयोगी रहने प्रतिबद्धता व्यक्त गरे। नगर प्रमुख साहले सडक पूर्वाधारको विकाससँगै चालक र पैदलयात्रीमा चेतनाको स्तर उठ्नुपर्नेमा जोड दिँदै भने, यातायात क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउन स्थानीय तहले आवश्यक नीति र पूर्वाधारमा सहयोग गरिरहेको छ। तर दुर्घटना न्यूनीकरणको मूल कडी भनेकै ट्राफिक नियमको पूर्ण पालना हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजेन्द्र थापा मगरले ट्राफिक सप्ताह २०८३ अन्तर्गत सात दिनसम्म जिल्लाभरि विभिन्न सचेतनामूलक र प्रवर्द्धनात्मक कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिए। उनले ओभरस्पिड सिटबेल्ट र हेलमेटको अनिवार्य प्रयोग, र जथाभाबी सडक पार गर्ने प्रवृत्तिका कारण दुर्घटना बढेको औंल्याउँदै चालक, यात्रु र पैदलयात्री सबैलाई आ–आफ्नो ठाउँबाट ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरे।
ट्राफिक नियम पालना गरौँ सुरक्षित यात्रा सुनिश्चित गरौँ भन्ने मुख्य नाराका साथ सम्पन्न प्रभातफेरी कार्यक्रमले रौतहट जिल्लामा सुरक्षित यातायात संस्कृतिको विकास गर्न र सडक दुर्घटनाको संख्यामा कमी ल्याउन दूरगामी एवं महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा सरोकारवालाहरूले गरेका छन्।



