मधेशसमाचार

खोप सेवामाथि खेलवाड : स्वास्थ्य कार्यालय बाराको गम्भीर लापरवाहीले बालबालिकाको स्वास्थ्य जोखिममा

कलैया, ०१ असार
 बालबालिकाको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्नुपर्ने जिम्मेवारी बोकेको स्वास्थ्य कार्यालय बारा आफैंले स्वास्थ्य मापदण्डको खुला उल्लंघन गरेको तथ्य सार्वजनिक भएको छ। जिल्लाको स्वास्थ्य प्रशासनको केन्द्र मानिने स्वास्थ्य कार्यालय बाराको भवनभित्रै क्षयरोग (टीबी) संक्रमित बिरामीलाई औषधि वितरण गर्ने र नवजात तथा बालबालिकालाई नियमित खोप सेवा दिने कार्य एउटै कोठाबाट सञ्चालन हुँदै आएको पाइएको हो।
क्षयरोग जस्तो संक्रामक रोगका बिरामीको नियमित आवतजावत हुने स्थानमा शिशु तथा बालबालिकालाई खोप सेवा प्रदान गरिनु स्वास्थ्य सुरक्षाको दृष्टिले गम्भीर लापरवाही भएको भन्दै अभिभावक तथा स्थानीयवासीले आक्रोश व्यक्त गरेका छन्। संक्रमण नियन्त्रणका सामान्य सिद्धान्तअनुसार पनि संक्रामक रोग सम्बन्धी सेवा र बालस्वास्थ्य सेवा पूर्ण रूपमा अलग स्थानमा सञ्चालन गर्नुपर्ने भए पनि स्वास्थ्य कार्यालय बाराले वर्षौंदेखि यस विषयलाई बेवास्ता गर्दै आएको आरोप लागेको छ।
अझ विडम्बना त के छ भने, खोप कार्यक्रम बालबालिकाको जीवनरक्षासँग प्रत्यक्ष जोडिएको संवेदनशील सेवा हो। तर त्यही सेवा सञ्चालन गर्ने स्थानमा टीबीका बिरामीको आवागमन हुने अवस्था रहनु स्वास्थ्य कार्यालयको व्यवस्थापकीय असफलताको स्पष्ट उदाहरण भएको स्थानीयको भनाइ छ।
स्वास्थ्य कार्यालयले जोखिम मूल्याङ्कन, सेवा व्यवस्थापन र स्वास्थ्य सुरक्षाका आधारभूत मापदण्ड लागू गर्नुपर्ने दायित्व बोकेको हुन्छ। तर जिल्लाकै प्रमुख स्वास्थ्य निकायबाट यति गम्भीर कमजोरी हुनु आफैंमा प्रश्नको विषय बनेको छ। स्वास्थ्य सेवा सुधारका नाममा विभिन्न कार्यक्रम सञ्चालन गरिए पनि कार्यालयभित्रै यस्ता अव्यवस्थित र असुरक्षित अभ्यास कायम रहनुले जिम्मेवार अधिकारीहरूको कार्यशैलीमाथि प्रश्न उठाएको छ।
यस विषयमा प्रतिक्रिया दिँदै स्वास्थ्य शाखा प्रमुख शैलेस मण्डलले समेत एउटै स्थानबाट टीबी औषधि वितरण र खोप सेवा सञ्चालन गर्नु उपयुक्त नभएको स्वीकार गरेका छन्। उनले निकट भविष्यमा खोप सेवालाई छुट्टै स्थानमा सार्ने तयारी भइरहेको बताएका छन्। तर सम्बन्धित अधिकारीले समस्या रहेको स्वीकार गरेपछि अर्को प्रश्न स्वतः उठेको छ—यदि व्यवस्था गलत थियो भने यसलाई सुधार गर्न वर्षौंदेखि किन पहल गरिएन ?
स्वास्थ्य कार्यालय बाराले समयमै व्यवस्थापन गर्न नसक्दा सयौं बालबालिका र अभिभावकहरू जोखिमयुक्त वातावरणमा सेवा लिन बाध्य भएको देखिन्छ। जिम्मेवार निकायले कमजोरी स्वीकार मात्र गरेर उम्किन नमिल्ने स्थानीयको भनाइ छ। उनीहरूका अनुसार समस्या थाहा हुँदाहुँदै पनि समाधानका लागि कुनै ठोस कदम नचालिनु प्रशासनिक लापरवाही र गैरजिम्मेवारीको उदाहरण हो।
स्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार क्षयरोग मुख्यतः हावाबाट सर्ने रोग भएकाले संक्रमित व्यक्तिको नियमित आवागमन हुने स्थानमा बालबालिकाको स्वास्थ्य सेवा सञ्चालन गर्नु उपयुक्त मानिँदैन। विशेषगरी नवजात तथा कम उमेरका बालबालिका संक्रमणप्रति बढी संवेदनशील हुने भएकाले यस्ता सेवालाई पूर्ण रूपमा अलग र सुरक्षित वातावरणमा सञ्चालन गर्नुपर्ने उनीहरूको सुझाव छ।
स्वास्थ्य कार्यालय बाराले जिल्लाभर स्वास्थ्य सुरक्षाका मापदण्ड लागू गराउने, अनुगमन गर्ने र स्थानीय तहलाई निर्देशन दिने भूमिका निर्वाह गर्नुपर्ने हो। तर आफैंले आधारभूत मापदण्ड पालना नगर्दा कार्यालयको विश्वसनीयतामाथि नै प्रश्नचिह्न खडा भएको छ।
स्थानीयवासी तथा अभिभावकहरूले स्वास्थ्य कार्यालय बारासँग तत्काल खोप सेवालाई छुट्टै, सुरक्षित र बालमैत्री स्थानमा स्थानान्तरण गर्न माग गरेका छन्। साथै बालबालिकाको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित यति संवेदनशील विषयमा भएको लापरवाहीबारे जिम्मेवार अधिकारीलाई जवाफदेही बनाइनुपर्ने उनीहरूको माग छ।
जिल्लाको स्वास्थ्य प्रशासनको नेतृत्व गर्ने निकायबाटै यस्तो कमजोरी दोहोरिनु दुर्भाग्यपूर्ण भएको भन्दै सरोकारवालाहरूले स्वास्थ्य कार्यालय बाराले अब बहाना होइन, तत्काल सुधारात्मक कदम चालेर आफ्नो जिम्मेवारी प्रमाणित गर्नुपर्ने बताएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button