
बारा, ०३ असार
सिम्रौनगढ नगरपालिकामा आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुतिको तयारी तीव्र पारिएको छ। नगरपालिकाले नगरसभा सफल र व्यवस्थित बनाउन जनप्रतिनिधिहरूलाई समयमै उपस्थित हुन आग्रह गर्दै औपचारिक पत्राचारसमेत गरेको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज अधिकारीद्वारा जारी पत्रमा नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्यहरूलाई नगरसभामा गरिमामय उपस्थितिका लागि अनुरोध गरिएको छ। पत्रअनुसार २०८३ असार ६ गते बिहान १० बजे नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिने उल्लेख गरिएको छ।
नगरपालिकामा हाल प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालिरहेका उपसचिव नवराज अधिकारीले छोटो समयमै प्रशासनिक गतिविधिलाई व्यवस्थित बनाउँदै नगरसभाको तयारीलाई तीव्रता दिएका छन्। कर्मचारी व्यवस्थापन, शाखागत समन्वय तथा जनप्रतिनिधिसँगको सहकार्यलाई प्रभावकारी बनाएको भन्दै नगरभित्र उनको कार्यशैलीको प्रशंसा हुन थालेको छ।
यसअघि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका बिरबहादुर साह लहेराले पनि कठिन परिस्थितिमा प्रशासन सञ्चालन गर्दै नगरपालिकाको दैनिक सेवा प्रवाहलाई निरन्तरता दिएका थिए। कर्मचारी अभाव र प्रशासनिक चुनौतीबीच उनले निर्वाह गरेको भूमिकालाई जनप्रतिनिधि तथा कर्मचारीहरूले सकारात्मक रूपमा स्मरण गरेका छन्।
स्थानीय तहमा बारम्बार देखिने प्रशासनिक अस्थिरताबीच सिम्रौनगढ नगरपालिकामा प्रशासनिक नेतृत्वबीचको समन्वयले विकास निर्माण, योजना व्यवस्थापन तथा नीति निर्माण प्रक्रियालाई गति दिएको नगरवासीको बुझाइ छ।
नगरसभामार्फत शिक्षा, स्वास्थ्य, कृषि, सडक पूर्वाधार, खानेपानी तथा सरसफाइ लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी वर्षको योजना अघि सारिने अपेक्षा गरिएको छ। नगरपालिकाले पारदर्शिता, जवाफदेहिता र जनमुखी कार्यक्रमलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको जनाएको छ।



