मधेशसमाचार

स्वस्थ र सक्रिय वृद्धावस्थाका लागि योग” भन्ने नारासहित विशेष कार्यक्रम सम्पन्न

बारा, ०७ असार
अन्तर्राष्ट्रिय योग दिवस २०२६ को अवसरमा बाराको महागढीमाई नगरपालिकामा विशेष कार्यक्रम आयोजना गरी योग दिवस मनाइएको छ। वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको आयोजनामा सम्पन्न कार्यक्रममा योगको महत्व तथा स्वस्थ जीवनशैली प्रवर्द्धनमा विशेष जोड दिइएको थियो।
कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री मोहम्मद समिरले कार्यक्रमको उद्घाटन गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री समिरले योग केवल शारीरिक व्यायाम मात्र नभई मानिसको मानसिक, बौद्धिक तथा आध्यात्मिक विकासको महत्वपूर्ण माध्यम भएको बताए।
उनले नियमित योग अभ्यासले तनाव व्यवस्थापन, रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि तथा स्वस्थ र अनुशासित जीवनयापनमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै आधुनिक जीवनशैलीका कारण बढ्दै गइरहेका विभिन्न स्वास्थ्य समस्यालाई न्यूनीकरण गर्न योग प्रभावकारी माध्यम बन्न सक्ने बताए। मन्त्री समिरले सबै उमेर समूहका नागरिकलाई दैनिक जीवनमा योगलाई समावेश गर्न आग्रह गर्दै योगले व्यक्ति, समाज र राष्ट्रलाई स्वस्थ बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।
कार्यक्रमको अध्यक्षता महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवले गरेका थिए। कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवर, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, सुरक्षा निकायका अधिकारी, सामाजिक अगुवा, योग प्रशिक्षक तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमअन्तर्गत सहभागीहरूलाई विभिन्न योगासन, प्राणायाम तथा ध्यान अभ्यास गराइएको थियो। योग प्रशिक्षकहरूले योगको इतिहास, यसको महत्व तथा योगले शारीरिक र मानसिक स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावबारे जानकारी गराएका थिए। सहभागीहरूले सामूहिक रूपमा योगाभ्यास गर्दै अन्तर्राष्ट्रिय योग दिवस उत्साहपूर्वक मनाएका थिए।
सन् २०१४ मा संयुक्त राष्ट्रसंघले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मान्यता दिएपछि विश्वभर यो दिवस मनाइँदै आएको छ। यस वर्ष “Yoga for Healthy Ageing” अर्थात् “स्वस्थ र सक्रिय वृद्धावस्थाका लागि योग” भन्ने नारासहित दिवस मनाइएको हो।
कार्यक्रमले योगप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैली अपनाउन प्रेरणा प्रदान गरेको आयोजक भारतीय महावाणिज्य दूतावास वीरगंजले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button