
रुपेश यादव
रौतहट , ०७ असार
आम सञ्चार प्राधिकरण मधेस प्रदेशको आयोजनामा संघीयता सुदृढीकरण तथा समाचार लेखनसम्बन्धी दुईदिने क्षमता अभिवृद्धि तालिम बारा जिल्लाको निजगढमा सुरु भएको छ।
फेडरलिजम एण्ड लोकालाइजेसन सेन्टरको प्राविधिक सहयोगमा सञ्चालन गरिएको उक्त कार्यक्रममा मधेस प्रदेशका रौतहट, बारा, सर्लाही र पर्सा जिल्लाबाट करिब ४० जना पत्रकारहरूको सहभागिता रहेको छ।
कार्यक्रमको उद्देश्य पत्रकारहरूको पेशागत क्षमता अभिवृद्धि गर्नुका साथै संघीय शासन प्रणालीबारे थप जानकारी प्रदान गर्नु रहेको आयोजकले जनाएको छ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै संघीयता विज्ञ डा. खिमलाल देवकोटाले नेपालमा संघीय व्यवस्था लागू भएपछि केही चुनौती र कमजोरी देखिए पनि समग्र रूपमा महत्वपूर्ण उपलब्धिहरू हासिल भएको बताउनुभयो। उहाँले संघीयताको प्रभावकारी कार्यान्वयनमा सञ्चारमाध्यम र पत्रकारहरूको भूमिका निर्णायक हुने धारणा व्यक्त गर्नुभयो।
त्यसैगरी, तालिममा संविधानसभा सदस्य प्रह्लाद लामिछाने तथा प्रशिक्षक विनय मिश्रले संघीय शासन प्रणाली, स्थानीय तहको सशक्तीकरण तथा प्रभावकारी समाचार लेखनका विभिन्न पक्षबारे प्रशिक्षण प्रदान गर्नुभएको थियो।
समापन सत्रलाई सम्बोधन गर्दै आम सञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष जितेन्द्र खड्काले संघीयतालाई थप मजबुत र प्रभावकारी बनाउन पत्रकारहरूको भूमिका सशक्त बनाउन यस्ता कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। उहाँले मधेस प्रदेशका पत्रकारहरूका लागि ११ विधामा पत्रकारिता पुरस्कार प्रदान गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो।
साथै सञ्चारमाध्यमहरूको क्षमता विकासका लागि प्रोत्साहन कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा सञ्चार सामग्री उपलब्ध गराउने योजना रहेको पनि उहाँले बताउनुभयो।
दुई दिनसम्म सञ्चालन हुने उक्त तालिममा संघीयता, सुशासन, स्थानीय सरकारको भूमिका तथा प्रभावकारी समाचार लेखनका विषयमा विस्तृत छलफल र प्रशिक्षण प्रदान गरिने आम सञ्चार प्राधिकरण मधेस प्रदेशका प्रमुख प्रशासकीय अधिकृत संतोष साहले जानकारी दिनुभयो।



