
रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको १३औँ नगरसभा भव्य तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ। नगर प्रमुख कौशल्या देवीको प्रमुख आतिथ्यता तथा उपनगर प्रमुखको विशेष उपस्थितिमा सम्पन्न नगरसभामा प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, पत्रकार तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
नगरसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५२ करोड ४९ लाख रुपैयाँभन्दा बढीको अनुमानित बजेट प्रस्तुत गरिएको छ। प्रस्तुत बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, सडक पूर्वाधार, खानेपानी, सरसफाइ, महिला तथा बालबालिका विकास, सामाजिक सुरक्षा र रोजगार प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको जनाइएको छ।
नगर प्रमुख कौशल्या देवीले नगरवासीको आवश्यकता र अपेक्षाअनुसार योजनाबद्ध विकास निर्माणका कार्यलाई तीव्रता दिइने बताउनुभयो। उहाँले पारदर्शी, उत्तरदायी तथा जनमुखी स्थानीय सरकार निर्माणतर्फ नगरपालिका दृढतापूर्वक अघि बढिरहेको उल्लेख गर्नुभयो। विकास निर्माणका योजनामा सबै राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारी र नागरिक समाजको सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो।
नगरसभामा प्रमुख प्रशासकीय अधिकृत नवाज हुसेनको कार्यक्षमता, प्रशासनिक दक्षता तथा विकासप्रतिको प्रतिबद्धताको खुलेर प्रशंसा गरिएको थियो। सहभागीहरूले नगरपालिकाको प्रशासनिक प्रणालीलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन उहाँले महत्वपूर्ण भूमिका निर्वाह गरेको धारणा व्यक्त गरेका थिए।
विशेषगरी सीमित स्रोत–साधनका बीच पनि योजनाको प्रभावकारी कार्यान्वयन, सेवा प्रवाहमा सुधार तथा कर्मचारी व्यवस्थापनमा प्रमुख प्रशासकीय अधिकृत हुसेनले देखाएको सक्रियताले नगरपालिकाको कार्यसम्पादनमा सकारात्मक प्रभाव परेको सहभागीहरूको भनाइ थियो। नगरसभामा बोल्ने अधिकांश जनप्रतिनिधि तथा सरोकारवालाहरूले विकास निर्माणका कार्यलाई गति दिन प्रमुख प्रशासकीय अधिकृत हुसेनको भूमिका प्रशंसनीय रहेको बताएका थिए।
प्रमुख प्रशासकीय अधिकृत नवाज हुसेनले नगरपालिकाको समग्र विकास, सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउन आफू निरन्तर प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले आगामी आर्थिक वर्षमा बजेट कार्यान्वयनलाई परिणाममुखी बनाउँदै जनताले प्रत्यक्ष अनुभूति गर्ने खालका योजना अघि बढाइने जानकारी दिनुभयो।
नगरसभामा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले स्थानीय विकास, कृषि आधुनिकीकरण, युवालाई स्वरोजगार, शिक्षा सुधार तथा स्वास्थ्य सेवाको पहुँच विस्तारमा विशेष ध्यान दिनुपर्ने धारणा राखेका थिए। वडा अध्यक्षहरूले आ–आफ्नो वडाका आवश्यकता, समस्या तथा विकास योजनाबारे सुझाव प्रस्तुत गरेका थिए।
पत्रकार, बुद्धिजीवी, सामाजिक अगुवा तथा अन्य सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको उक्त नगरसभा सफल तथा उपलब्धिमूलक रूपमा सम्पन्न भएको नगरपालिकाले जनाएको छ।



