रौतहट , १२ असोज
नवरात्र तथा दसहरा बडा दशैंको पर्वको महत्त्वपूर्ण अनुष्ठानअन्तर्गत आइतबार मधेशका विभिन्न स्थानमा मैथिल परम्पराअनुसार ‘बेलनौत’ विधि उल्लासपूर्वक सम्पन्न भएको छ। यो विधि सम्पन्न भएसँगै सम्पूर्ण मिथिला क्षेत्रमा दसैंको चहलपहल र धार्मिक उल्लास उत्कर्षमा पुगेको छ।
‘बेलनौत’ को महत्त्व र विधि
मैथिली संस्कृतिमा, नवरात्रको षष्ठी तिथिमा देवी दुर्गाको प्रतिमामा आँखाखोल्ने विधिका लागि ‘बेलनौत’ गर्ने परम्परा रहेको छ। यस अवसरमा भक्तजन तथा पुरोहितहरूले बस्ती नजिकको बेलको रूखमा विशेष पूजाअर्चनासहित निमन्त्रणा (नौत) गर्ने गर्छन्। रूखमा चढेर एकवटा बेलको फललाई रातो रुमालले बाँधेर निमन्त्रणा दिने यो विधिलाई नै ‘बेलनौत’ भनिन्छ। ‘नौत’ शब्दको अर्थ नै निमन्त्रणा गर्नु हो, जसले देवीलाई पृथ्वीमा अवतरणका लागि आमन्त्रण गरेको सन्देश दिन्छ।
यस वर्ष १० दिनको नवरात्र
यस वर्ष चतुर्थी (चौथी) तिथि दुई दिन परेका कारण नवरात्रको अवधि १० दिनको भएको छ। सामान्यतयाः नवरात्रको छैटौँ दिन (षष्ठी) मा गरिने ‘बेलनौत’ विधि यसपालि भने नवरात्रको सातौँ दिनमा परेको छ। यसले पर्वको अवधि लम्बिए पनि धार्मिक उत्साहमा कुनै कमी आएको छैन।
बेल फलले खोलिन्छ देवीको आँखा
बेलनौत गरिएको बेल फललाई सप्तमीका दिन बिहान बाजागाजासहित रूखबाट झिकिन्छ, जसलाई ‘बेलतोडी’ भनिन्छ। अत्यन्त पवित्र मानिने सो फललाई पुरोहित ब्राह्मणले विधिपूर्वक देवीको माटोको प्रतिमाको आँखामा ‘भेट्नु’ बनाएर कोट्याई आँखाखोल्ने कर्म सम्पन्न गर्छन्।
मिथिला परम्पराका विज्ञ महेशकुमार झाका अनुसार, आँखा खोलिएपछि माटोबाट बनाइएका देवी प्रतिमाहरू “सजीव” भएको मानिन्छ। यसपछि मात्र ती प्रतिमाहरूलाई सर्वसाधारण भक्तजनको दर्शनका लागि औपचारिक रूपमा खुला गरिन्छ।
सम्पूर्ण मिथिला क्षेत्रमा व्यापक चहलपहल
‘बेलनौत’ विधि सम्पन्न भएसँगै जनकपुर, रौतहट, सर्लाही, महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा दसैंको माहोल तातेको छ।ड अधिकांश बस्ती र शक्तिपीठहरूमा माटोका अस्थायी देवी प्रतिमा स्थापना गरी आज ‘बेलनौत’ विधि सम्पन्न भइरहेको छ। यद्यपि, काठ वा धातुका स्थायी देवी प्रतिमा भएका मन्दिरहरूमा भने आँखाखोल्ने विधि नगरिए पनि निमन्त्रणा गरिएको बेल फल राख्ने परम्परा भने अझै कायम राखिएको छ।
नवरात्रको समापनपछि विजयादशमीका दिन यी माटोका प्रतिमाहरूलाई पवित्र नदी वा तलाउमा बाजागाजासहित लगेर विसर्जन गरिन्छ, जसलाई मिथिलाञ्चलमा ‘मूर्ति भसाउने’ भनिन्छ। बाजागाजा, विशेष पूजाअर्चना, सांस्कृतिक उत्सव तथा नाचगानसहित मिथिलावासीले यस वर्षको दसैंलाई भव्यताका साथ मनाइरहेका छन्।
