रौतहटमा करोडौंको पान मसला बोकेको ट्रक नियन्त्रणमा, चालक गोप्य राख्दा प्रहरीमाथि गम्भीर प्रश्न

असोज , १३ रौतहट

नेपाल-भारत सीमा जोडिएको रौतहट जिल्ला फेरि एकपटक तस्करीको मुख्य नाका बनेको पुष्टि भएको छ। ठूलो परिमाणमा अवैध पान मसला बोकेको एउटा ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएको भए पनि जिल्ला प्रहरी कार्यालय गौरले घटनालाई सार्वजनिक नगरी गोप्य राखेपछि प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न खडा भएको छ।

जिल्लाको पश्चिमी भेगमा अवस्थित ईलाका प्रहरी कार्यालय कोपवा पिपरीयाले आइतबार राति करिब ८:३० बजे उक्त ट्रकलाई नियन्त्रणमा लिएको थियो। प्रारम्भिक कारबाहीपछि उक्त ट्रक र चालकलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय गौर पठाइएको भए पनि घटना भएको लामो समयसम्म प्रहरीले कुनै पनि आधिकारिक जानकारी सार्वजनिक गरेको छैन।

खोक्रो सावित भयो ‘तस्करी नियन्त्रण’ को दाबी

जिल्लाका सुरक्षा प्रमुखहरू, विशेषगरी शस्त्र प्रहरी प्रमुखहरू, ले रौतहटमा तस्करी शून्य रहेको र सबै गतिविधि पूर्ण नियन्त्रणमा रहेको भन्दै जनतासामु बारम्बार ठोकुवा गर्दै आएका थिए। तर, यसरी रातिको समयमा खुलेआम ठूलो ट्रक प्रयोग गरी अवैध पान मसला (गुटखाजन्य पदार्थ) जस्तो ठूलो परिमाणको तस्करी हुनुले ती सबै दाबीहरू खोक्रो सावित गरिदिएको छ।

स्थानीय बासिन्दा तथा नागरिक समाजका अगुवाहरूले प्रहरी नेतृत्वको नियतमाथि शङ्का व्यक्त गर्दै सिधा प्रश्न उठाएका छन्। उनीहरूको प्रश्न छ— “यदि सीमा क्षेत्रमा कडाइ छ र तस्करी हुँदैन भने यो ट्रक कसरी भारतीय बजारबाट नेपालतर्फ निर्बाध प्रवेश गर्‍यो? र, यत्रो ठूलो परिमाणको तस्करीमा संलग्न ट्रक र चालकलाई गोप्य राख्नुको पछाडि कुन ठूलो रहस्य लुकेको छ?”

गोप्यताको पर्दा र ‘मोलमोलाई’ को आशङ्का

सामान्य चोरी तस्करीका घटनाहरूमा समेत प्रहरीले तत्कालै प्रेस विज्ञप्ति जारी गर्ने वा सार्वजनिक गर्ने गरेको अभ्यासविपरीत, यति ठूलो र सङ्गठित प्रकृतिको तस्करीको घटनालाई जिल्ला प्रहरी कार्यालय ले गोप्य राख्नुले आम मानिसमा गहिरो शङ्का उब्जाएको छ।

अवैध सामानसहित नियन्त्रणमा लिइएको ट्रकको विवरण सार्वजनिक नगर्दा ‘कहीँ न कहीँ दालमा केही कालो छ’ भन्ने आशङ्काले प्राथमिकता पाएको छ। स्थानीय सरोकारवालाहरूले प्रहरीको यो अपारदर्शी शैलीले नियन्त्रणमा लिइएको सामानको ‘मोलमोलाई’ भइरहेको वा ‘उच्च राजनीतिक तथा आर्थिक दबाब’ का कारण घटनालाई दबाउन खोजिएको हुनसक्ने गम्भीर चासो व्यक्त गरेका छन्।

जिल्ला प्रहरी कार्यालयले अहिलेसम्म नियन्त्रणमा लिएको पान मसलाको परिमाण, त्यसको अन्तर्राष्ट्रिय बजार मूल्य, ट्रकको नम्बर, र पक्राउ परेका चालकको पहिचान बारे कुनै पनि जानकारी दिन मानेको छैन। यसले प्रहरी प्रशासनको पारदर्शिता र जवाफदेहीता माथि नै ठूलो प्रश्नचिन्ह खडा गरेको छ।

निष्पक्षतामाथि अविश्वासको छाया

यो घटनाले नेपाल-भारत सीमा क्षेत्र मा क्रियाशील सङ्गठित तस्करको जालो कति गहिरो र बलियो छ भन्ने कुरा स्पष्टसँग उजागर गरेको छ। प्रहरी नेतृत्वको यस्तो अपारदर्शी व्यवहारले तस्करहरूलाई थप प्रोत्साहन मिल्ने र कानून कार्यान्वयन गर्ने निकायको निष्पक्षतामाथि नै जनताको अविश्वास बढ्ने देखिएको छ।

जिल्ला प्रहरी कार्यालय, गौरले यस विषयमा तत्काल सत्यतथ्य सार्वजनिक गरी दोषीमाथि पारदर्शी छानबिन प्रक्रिया अगाडि नबढाएमा तस्करी नियन्त्रण गर्ने प्रहरीको प्रतिबद्धतामाथि थप अविश्वासको छाया पर्ने निश्चित छ।

जनताले प्रहरी प्रशासनबाट तत्कालै घटनाको सम्पूर्ण यथार्थ विवरण र पक्राउ परेका व्यक्तिको पहिचान सार्वजनिक गरी कानून बमोजिम कारबाही अगाडि बढाउन जोरदार माग गरेका छन्।

Leave A Reply

Your email address will not be published.