
राजन कुमार बानियाँ
पर्सा, २१ जेठ
एसईई परीक्षा २०८२ मा पर्सा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत सर्वोत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थी अन्सु खनाललाई नगद पुरस्कारसहित सम्मान गरिएको छ। शैक्षिक गुणस्तर अभिवृद्धि तथा विद्यार्थीहरूलाई उत्कृष्ट नतिजाका लागि प्रेरित गर्ने उद्देश्यले प्रतिनिधिसभा सदस्य टेकबहादुर शाक्यले घोषणा गर्नुभएको पुरस्कार कार्यक्रमअन्तर्गत खनाललाई रु. ५१ हजार नगद तथा सम्मानपत्र प्रदान गरिएको हो।
ठोरी गाउँपालिका–४ गौतमनगरस्थित श्री सरस्वती माध्यमिक विद्यालयका विद्यार्थी खनालले एसईई परीक्षा २०८१ मा ३.६६ जिपिए प्राप्त गर्दै पर्सा क्षेत्र नं. ४ भरिमै प्रथम स्थान हासिल गरेका थिए। जिराभवानी गाउँपालिका–अन्तर्गत रहेको श्री वितो महतो जनता माध्यमिक विद्यालय, जितपुर नौकाटोलामा आयोजित विशेष कार्यक्रममा सांसद शाक्यले उनलाई नगद पुरस्कार र सम्मानपत्र हस्तान्तरण गर्नुभयो।
कार्यक्रममा क्षेत्रका विभिन्न स्थानीय तहमा सर्वाधिक अंक ल्याई उत्कृष्ट नतिजा हासिल गर्ने अन्य विद्यार्थीहरूलाई समेत जनही रु. २१ हजारका दरले नगद पुरस्कार प्रदान गरिएको थियो। सम्मानित हुनेहरूमा श्री नेरा माध्यमिक विद्यालय, सेढवाकी राधा कुमारी (जिपिए ३.२५), श्री नेरा माध्यमिक विद्यालय, जगरनाथपुरका अजय साह रौनियार (जिपिए ३.४८), श्री कालीप्रसाद लाखे माध्यमिक विद्यालय, लगडीका सञ्जीव पटेल (जिपिए ३.५१), श्री सुकई साह माध्यमिक विद्यालय, भेडीहारीकी रैणु कुमारी (जिपिए ३.५५) तथा श्री मङ्गल माध्यमिक विद्यालय, भिस्वाका रञ्जित कुमार साह (जिपिए ३.२२) रहेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद शाक्यले शिक्षा नै समाजको विकास, समृद्धि र परिवर्तनको मुख्य आधार भएको बताउनुभयो। उहाँले मेहनत, अनुशासन र लक्ष्यप्रतिको प्रतिबद्धताले मात्र सफलता हासिल गर्न सकिने उल्लेख गर्दै विद्यार्थीहरूलाई उच्च शिक्षा तथा प्रतिस्पर्धात्मक क्षेत्रमा पनि उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गर्नुभयो। उत्कृष्ट प्रतिभाको सम्मान र प्रोत्साहनका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।
प्रधानाध्यापक रामशंकर चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता सम्मान तथा प्रोत्साहनमूलक कार्यक्रमले विद्यार्थीहरूमा अध्ययनप्रति थप उत्साह, आत्मविश्वास र स्वस्थ प्रतिस्पर्धाको भावना विकास हुने विश्वास व्यक्त गरेका थिए। शिक्षा क्षेत्रमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूको सम्मानले समग्र शैक्षिक वातावरणलाई सकारात्मक दिशा दिने अपेक्षा गरिएको छ।



