मधेशसमाचार

वातावरणीय प्रदूषण न्यूनीकरणका लागि विद्यालय र स्वास्थ्य संस्थाको साझा प्रतिबद्धता

बारा, २४ जेठ
 वातावरणीय प्रदूषणका कारण मानव स्वास्थ्य, जैविक विविधता तथा समग्र पर्यावरणमा गम्भीर असर परिरहेको सन्दर्भमा स्वास्थ्य कार्यालय बाराले आइतबार प्रसौनी गाउँपालिका–स्थित बेंगा साह माध्यमिक विद्यालयमा “वातावरण प्रदूषण न्यूनीकरण सम्बन्धी बहस तथा पैरवी कार्यक्रम” आयोजना गरेको छ। कार्यक्रमले वातावरण संरक्षण तथा प्रदूषण नियन्त्रणका लागि स्थानीय तह, विद्यालय र स्वास्थ्य संस्थाहरूबीच समन्वय र सहकार्यको आवश्यकतामा जोड दिएको छ।
कार्यक्रममा प्रसौनी गाउँपालिका र परवानीपुर गाउँपालिका क्षेत्रभित्र रहेका विभिन्न सामुदायिक विद्यालयका प्रधानाध्यापक, स्वास्थ्य चौकी प्रमुख, स्वास्थ्यकर्मी, शिक्षक तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। वातावरणीय समस्याले जनस्वास्थ्यमा पार्ने प्रभावबारे साझा बुझाइ विकास गर्दै स्थानीय स्तरमै समाधानका उपाय खोज्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको स्वास्थ्य कार्यालय बाराले जनाएको छ।
बेंगा साह माध्यमिक विद्यालयका प्रधानाध्यापक रबिन्द्र कुमार गिरिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य कार्यालय बाराका जनस्वास्थ्य अधिकृत भगिरथ चौधरी, प्रसौनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश साह, प्रसौनी शिक्षा संयोजक सन्तोष रौनियार, परवानीपुर गाउँपालिकाका शिक्षा संयोजक रबिन्द्र मिश्र, परवानीपुर गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक जयकृष्ण मिश्र, ल्याब टेक्नोलोजिष्ट तथा अन्य स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख प्रशिक्षक जितपुर–सिमरा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत रवि कुमार भास्कर रहेका थिए।
प्रशिक्षक भास्करले वातावरणीय प्रदूषणका प्रमुख प्रकारहरूबारे विस्तृत प्रस्तुति दिएका थिए। उनले पानी प्रदूषण, हावा प्रदूषण, माटो प्रदूषण, ध्वनि (हो–हल्ला) प्रदूषण तथा विकिरण प्रदूषण का कारण, त्यसले मानव स्वास्थ्यमा पार्ने प्रत्यक्ष तथा अप्रत्यक्ष असर र न्यूनीकरणका उपायबारे जानकारी गराएका थिए। उनले बढ्दो शहरीकरण, अव्यवस्थित फोहोर व्यवस्थापन, रासायनिक पदार्थको अत्यधिक प्रयोग तथा वातावरणीय चेतनाको अभावका कारण प्रदूषणको समस्या जटिल बन्दै गएको उल्लेख गरे।
जनस्वास्थ्य अधिकृत भगिरथ चौधरीले वातावरणीय प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी रोग, मुटुरोग, छालासम्बन्धी समस्या तथा पानीजन्य रोगहरू बढ्दै गएको बताए। उनले वातावरण संरक्षणलाई स्वास्थ्य सुरक्षासँग जोडेर हेर्नुपर्ने आवश्यकता औंल्याउँदै विद्यालय र स्वास्थ्य संस्थाले समुदायस्तरमा जनचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा राखे।
कार्यक्रममा सहभागी प्रधानाध्यापक तथा स्वास्थ्य चौकी प्रमुखहरूले आ–आफ्नो क्षेत्रका वातावरणीय चुनौतीबारे अनुभव आदानप्रदान गरेका थिए। विद्यालय परिसरलाई हरियाली र सफा राख्ने, प्लास्टिकजन्य फोहोरको प्रयोग घटाउने, सुरक्षित खानेपानीको पहुँच विस्तार गर्ने तथा वातावरणमैत्री व्यवहारलाई प्रोत्साहन गर्ने विषयमा विशेष छलफल भएको थियो। सहभागीहरूले वातावरण संरक्षणलाई पाठ्यक्रमसँग समेत जोडेर विद्यार्थीमा व्यवहारिक चेतना विकास गर्नुपर्ने सुझाव दिएका थिए।
कार्यक्रम सञ्चालन प्रसौनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश साहले गरेका थिए। समापनका क्रममा अध्यक्ष रबिन्द्र कुमार गिरिले वातावरणीय प्रदूषण नियन्त्रणका लागि विद्यालय, स्वास्थ्य संस्था, स्थानीय सरकार र समुदायबीच निरन्तर सहकार्य आवश्यक रहेको बताए। उनले यस्ता कार्यक्रमले विद्यार्थी, शिक्षक तथा समुदायमा वातावरण संरक्षणप्रति जिम्मेवारीबोध बढाउने विश्वास व्यक्त गरे।
कार्यक्रमबाट वातावरणीय प्रदूषण न्यूनीकरणका लागि स्थानीय स्तरमा सचेतना अभिवृद्धि गर्दै विद्यालय र स्वास्थ्य संस्थालाई अभियानको अग्रपंक्तिमा परिचालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको आयोजकले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button