
बारा , ०७ कार्तिक
नेपाली कांग्रेस पचरौता नगर समितिले दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ। नगर समितिको आयोजनामा भएको कार्यक्रममा पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले नेपालीहरूको प्रमुख पर्व दीपावली, नेपाल संवत् तथा छठ पर्वले आपसी सद्भाव, भाइचारा, एकता र सामाजिक सहिष्णुता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। उनीहरूले पर्वका माध्यमबाट समाजमा शान्ति, समृद्धि र सकारात्मक सोचको विकास हुने विश्वास व्यक्त गर्दै सम्पूर्ण नगरवासीमा शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाली कङ्रेशका बारा जिल्ला सचिव राजेश रौनियारले पार्टी संगठनलाई थप मजबुत बनाउँदै जनताको समस्या र आवश्यकतालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए। साथै, स्थानीय तहमा जनतासँग प्रत्यक्ष रूपमा जोडिएर सामाजिक तथा विकास निर्माणका गतिविधिलाई प्रभावकारी बनाउनुपर्ने धारणा व्यक्त गरिएको थियो।
कार्यक्रममा नेपाली कांग्रेस बाराका सह- सचिव प्रमोद यादव ,पचरौता नगर समितिका पदाधिकारी, विभिन्न वडाका प्रतिनिधि, नेता–कार्यकर्ता तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले एकआपसमा शुभकामना आदान–प्रदान गर्दै दीपावली तथा छठ पर्वलाई आपसी सद्भाव र मेलमिलापका साथ मनाउने प्रतिबद्धता व्यक्त गरे।
नगर समितिका सभापति इनजाद अन्सारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागी वक्ताहरूले पर्वको अवसरमा सम्पूर्ण पचरौता नगरवासी, बारा जिल्लावासी तथा देश–विदेशमा रहेका नेपालीहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा सहभागीहरूले नेपाली कांग्रेसको संगठनलाई गाउँ–गाउँसम्म थप सुदृढ बनाउँदै जनताको हकहित र विकासका सवालमा निरन्तर सक्रिय रहने बताएका थिए।



