गौर घटनाको मुख्य योजनाकार प्रभु साह रहेको जिल्ला अध्यक्ष यादवको आरोप 

गौर घटनाको मुख्य योजनाकार प्रभु साह रहेको जिल्ला अध्यक्ष यादवको आरोप

 

शु.आ. सम्बाददाता

 

रौतहट, ०४ भाद्र

 

हत्याकाण्डसम्बन्धी अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतले परमादेश जारी गरेपछि जनता समाजवादी पार्टी (जसपा) नेपालले त्यसको विरोधमा मंगलबार रौतहटको सदरमुकाम गौरमा प्रदर्शन गरेको छ।

 

सर्वोच्चको आदेशप्रति असन्तुष्टि जनाउँदै जसपाले यसलाई राजनीतिक प्रतिशोधको रूपमा चित्रण गरेको छ। पार्टीले गौर हत्याकाण्डलाई तत्कालीन राजनीतिक परिप्रेक्ष्यमा उत्पन्न भएको घटना भन्दै अध्यक्ष उपेन्द्र यादवलाई झूटो आरोपमा फसाउन खोजिएको आरोप लगाएको हो।

 

प्रदर्शन बिपी चौकबाट सुरु भई नगर परिक्रमा गर्दै अदालत चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभामा बोल्दै जसपा नेपालका केन्द्रीय सदस्य तथा पूर्व कृषि राज्यमन्त्री योगेन्द्र राय यादवले, “उपेन्द्र यादवमाथिको षड्यन्त्र खारेज गर”, “राजनीतिक मुद्दालाई कानुनी रूप नदेऊ” र “सर्वोच्चको आदेश फिर्ता गर” जस्ता नाराबाजी गरेका थिए।

 

कार्यक्रममा जसपा नेपाल रौतहट जिल्ला कार्यसमितिका अध्यक्ष राजिव रंजन उर्फ राजु यादवले बोल्दै गौर घटनाको मुख्य योजनाकार तत्कालीन नेता प्रभु साह रहेको दाबी गरे। उनले उक्त घटनामा अध्यक्ष यादवको कुनै संलग्नता नरहेको भन्दै अनुसन्धानको नाममा राजनीतिक प्रतिशोध लिने प्रयास भइरहेको बताए।

 

प्रदर्शनमा स्थानीय तहका नेता, कार्यकर्ता तथा भातृ संगठनका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो। उनीहरूले सरकारको इसारामा सर्वोच्च अदालतमार्फत राजनीतिक मुद्दा खोलिएको आरोप लगाउँदै अदालतले न्यायको सट्टा अन्यायलाई प्रश्रय दिएको टिप्पणी गरे।

 

यसअघि सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले २०६३ साल चैत ७ गते रौतहटको गौरस्थित राइस मिल चौरमा भएको हत्याकाण्डको पुनः अनुसन्धान गर्न रौतहट प्रहरीले छानबिन अघि बढाउन परमादेश दिएको थियो।

 

उक्त झडपमा तत्कालीन मधेसी जनअधिकार फोरम र नेकपा माओवादीबीचको द्वन्द्वका क्रममा २७ जनाको मृत्यु भएको थियो। घटना त्यसयता निरन्तर रूपमा राजनीतिक विवादको केन्द्रमा रहँदै आएको छ।

 

जसपाले अध्यक्ष यादवविरुद्ध मुद्दा दायर हुनु लोकतन्त्र र न्यायपालिका माथिको हस्तक्षेप भएको भन्दै आगामी दिनमा अझ कडा र सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ।

Comments (0)
Add Comment