बारा, २ असोज
बाराको सीमावर्ती क्षेत्रहरूबाट व्यापक रूपमा तस्करी बढेपनी सुरक्षा निकाय भने रकममा लिप्त हुने गरेको विभिन्न प्रमाणहरूले प्रष्ट पारेको छ । जेनजी आन्दोलनको नाममा सुरक्षा दिन नसक्ने बाहाना बनाउदै बाराको विभिन्न नाकाहरू स्थित प्रहरी चौकी उठाइएको समेत खबर प्राप्त भएको हो ।
बाराको सीमावर्ती क्षेत्रमा पर्ने मुसहर्वा, छतवा र मटिअर्वा नाका हुँदै प्रहरीको मिलोमतो तथा सहकार्यमा व्यापक रूपमा तस्करी बढेको प्रमाणित समेत भएको छ । प्रहरी चौकी मटिअर्वा र प्रहरी चौकी छतवाको बिच भागमा पर्ने अस्थायी प्रहरी पोस्ट जोतपुरलाई तस्करीको लाइन क्लियर गर्न चौकिलाई उठाइएको व्यापक चर्चाको बिषय बनेको छ । स्थानीयहरूका अनुसार अस्थायी प्रहरी पोस्ट जोतपुरमा रहेको प्रहरीहरूका कारण तिनवटा टोलको सुरक्षा ब्यवस्था हुँदै आएपनी तस्करीको सेन्डिगेट मिलाउन प्रहरी चौकी नै उठाइएको आरोप लगाएका हुन ।
बिगत लामो समयदेखी बन्द रहेको तस्करीको लाइन माथिल्लो निकाय कै आदेशमा खुल्ला गर्ने भएपछी प्रहरी चौकी अगाडी बाटै तस्करीको मालसमान ओहर दोहर गर्न नसकिने भएकोले प्रहरी चौकी नै हटाइएको बिषय हालको समयमा चर्चाको बिषय बनेको छ । यता यस बिषयमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष तमाङ्गले गाइगोठ जस्तो अस्थायी प्रहरी पोस्ट रहेकोले प्रहरीलाई राख्न नसकिने भन्दै पन्छिन खोजे ।
जेनजी आन्दोलनका कारण भ्रष्ट नेताहरूमा केही सुधार भएपनी सुरक्षा निकायमा सुधार नदेखिएको प्रष्ट बुझन सकिन्छ । यता जेनजी आन्दोलनले गृहमन्त्री परिवर्तन भएपनी सुरक्षा निकायमा परिवर्तन नदेख्नुले जो जोगि आए नि कानै चिरेको जस्तो हुने आरोप स्थानीयको रहेको छ ।