असोज २४ रौतहट
जिल्लाको प्रादेशिक अस्पताल गौरको रिक्त रहेको व्यवस्थापन समितिका पदाधिकारीहरूले औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् । सम्बन्धित मन्त्रालयले अस्पताल व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउनका लागि अध्यक्षमा अवधेश यादव तथा सदस्यहरूमा ओमप्रकाश साह र जमुना साहलाई नियुक्त गरेसँगै नवनियुक्त पदाधिकारीहरूले बिहीबार अस्पतालको सभा हलमा आयोजित एक कार्यक्रमका बीच पदभार सम्हालेका हुन् ।
नवगठित समितिका पदाधिकारीहरूलाई पदभार ग्रहणका लागि अस्पताल पुग्दा अस्पताल प्रशासन र कर्मचारीहरूले भव्य स्वागत गरेका थिए । उनीहरूको स्वागतमा कर्मचारीहरूले खादा र माला लगाएर सम्मान प्रकट गरेका थिए ।
पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा बोल्दै समितिका नवनियुक्त अध्यक्ष यादवले प्रादेशिक अस्पताल गौरको साखलाई थप उचाइमा पुर्याउने आफ्नो मुख्य लक्ष्य रहेको बताए । उनले यस अस्पताल पहिलेदेखि नै उत्कृष्ट सेवाका लागि परिचित रहेको उल्लेख गर्दै, “हामी अस्पताललाई झनै उत्कृष्ट बनाउने लक्ष्यका साथ आएका छौं । यसका लागि हामीलाई अस्पतालका सम्पूर्ण कर्मचारी, स्थानीय निकाय तथा सरोकारवाला सबै पक्षबाट सहयोग र सकारात्मक सुझावको अपेक्षा छ,” उनले भने ।
अध्यक्ष यादवले अस्पतालको सेवाको गुणस्तर सुधार गर्न, व्यवस्थापनलाई पारदर्शी बनाउन र बिरामीमैत्री वातावरण निर्माण गर्न नयाँ समिति पूर्ण रूपमा कटिबद्ध रहेको प्रतिबद्धता व्यक्त गरे ।
नयाँ समितिको नियुक्तिसँगै यसअघिको व्यवस्थापन समितिको कार्यकाल पनि औपचारिक रूपमा सम्पन्न भएको हो । नवनियुक्त समितिका सदस्यहरू ओमप्रकाश साह र जमुना साहले पनि अस्पतालको सेवा प्रवाहलाई सहज, गुणस्तरीय र सबैको पहुँचमा पुर्याउन आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने बताए ।
प्रादेशिक अस्पताल गौरमा नयाँ व्यवस्थापन समितिले पदभार ग्रहण गरेसँगै अस्पतालको सेवा र व्यवस्थापनमा थप सुधार आउने अपेक्षा गरिएको हो ।