कलैया , ०१ कार्तिक
पत्रकारिताको मर्यादा र सञ्चारमाध्यमको दिगो विकासप्रति पत्रकार महासंघ जिल्ला शाखा बारा प्रतिबद्ध रहेको छ।
नेपाल पत्रकार महासंघ पत्रकारहरुको छाता संगठन रहेको सर्वविदितै छ। नेपाल पत्रकार महासंघ २०१२ सालमा स्थापना भई लामो इतिहास बोकेको नेपाली संस्थाहरू मध्ये एक अग्रणी संस्था रहेको छ। महासंघमा पत्रिका, रेडियो, टिभी, अनलाइन र स्वतन्त्र पत्रकारहरू सहित हाल देशभर १३ हजारभन्दा बढी पत्रकार आवद्ध रहेका छन्।
सूचनाको हक, विचार तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा वकालत गर्दै आएको महासंघले श्रमजीवी पत्रकारहरूको उचित श्रम अभ्यास र पेशा तथा रोजगारीको अधिकारको संरक्षणका लागि पनि निरन्तर आवाज उठाउँदै आएको सर्वविदितै छ। विभिन्न समयमा पत्रकारमाथि हुने आक्रमण निन्दनीय रहेको र कर्तव्य पालनाको क्रममा जीवन गुमाएका पत्रकारप्रति बारा शाखाले श्रद्धाञ्जली अर्पण गरेको छ।जनताको सूचना पाउने अधिकार, पत्रकारिताको मर्यादा र सञ्चारमाध्यमको दिगो विकासप्रति प्रतिबद्ध रहदै बारा शाखाले पछिल्लो समय बारा जिल्लास्थित स्थानीय तहका साथै सरकारी तथा गैरसरकारी कार्यालयहरूमा सञ्चारमाध्यम तथा पत्रकारिताका नाममा अनधिकृत रूयमा विज्ञापन माग गर्ने, धम्क्याउने र अनावश्यक विल पेश गर्ने गुनासाहरू प्राप्त भएकाले यस्ता कार्यहरूबाट सजग रहन सम्बन्धित सबै कार्यालयहरूलाई आग्रह गर्दै पत्रकारिताको नाममा त्यस्ता गलत क्रियाकलाप नगर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ।
त्यसै सूचनाको हक सम्बन्धी ऐन २०६४ अनुसार सबै नागरिकलाई सूचना पाउने अधिकार सुनिश्चित गरिएको छ । तर, जिल्ला स्थित स्थानीय तह तथा सरकारी कार्यालयहरूले जनतासँग सम्बन्धित सूचना समय मै प्रकाशित नगर्नुका साथै स्वतः प्रकाशन गर्नुपर्ने सूचना प्रकाशित नगर्ने प्रवृत्ति देखिन्छ, जसले नागरिकको अधिकारमा बाधा पुर्याउँछ। कार्यालयका वेभसाइटहरु अद्यावधिक नहुनु, सार्वजनिक सुनुवाई नहुनु, वडापत्र तथा योजनाका सूचनाहरूको अभाव, सूचना बोर्डहरूको न्यून प्रयोग, र सूचना माग गर्दा कार्यालयहरूको आलटाल गर्ने प्रवृत्तिले सूचनाको हकलाई कमजोर बनाएको छ। यस्ता कमजोरीहरू सुधार गर्ने र सूचनाको हक मैत्री वातावरण बनाउन सम्बन्धित सबैको ध्यानाकर्षण महासंघले गराएको छ । साथै, सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले सामाजिक सञ्जालमा पत्रकारिताको मर्म विपरीत जथाभावी लेख्ने प्रवृत्ति प्रति पनि सचेत रहन अनुरोध गरेको छ ।
लोककल्याणकारी विज्ञापनको स्थानीय सञ्चार माध्यममा पहुँच अभावले स्थानीय सन्देश र सूचना पहुँचमा समस्या उत्पन्न गरेको छ। महासंघमा आवद्ध पत्रकारहरूले स्वरोजगार बनेर सञ्चालन गरेका एफएम रेडियो, पत्रिका तथा अनलाइन भन्दा बाहिरका सञ्चारमाध्यमको रजगज चलेको पाइन्छ । लोककल्याणकारी विज्ञापनहरूको पारदर्शी वितरणको अभावले स्थानीय सञ्चारमाध्यमहरूलाई आर्थिक रूपमा कमजोर बनाएको छ। विज्ञापन वितरणको स्पष्ट कार्यविधि अभावले ती सञ्चारमाध्यमको स्थायित्व र समृद्धिमा अवरोध उत्पन्न गरेको छ। अतः लोककल्याणकारी विज्ञापन स्थानीय सञ्चारमाध्यम मार्फत प्रसारण तथा प्रकाशन गर्न महासंघ सम्बन्धित निकायसँग अनुरोध गरेको छ। साथै, समन्वय र सुधारको प्रक्रियामा महासंघ सबै सहकार्य गर्न तत्पर रहेको प्रतिवद्ध रहेको जानकारी गराएको छ।