यात्रुबाहक बसबाट ठूलो मात्रामा इन्जेक्सन लागु औषधसहित एक वृद्धा पक्राउ

कार्तिक, ०३ रौतहट

जिल्लाको यमुनामाई गाउँपालिका वडा नं. ५ बमनहर चौकस्थित आईतवार बेलुका भएको नियमित चेकजाँचका क्रममा ठूलो मात्रामा लागु औषध इन्जेक्सनसहित एक वृद्धा महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार सदरमुकाम गौरबाट चपुरतर्फ जाँदै गरेको ना ५ ख ५०६३ नम्बरको बसलाई बमनहर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक ज्ञान बहादुर श्रेष्ठको कमाण्डमा खटिएको चेकिङ टोलीले रोकेर खानतलासी गर्दा उक्त लागु औषध बरामद भएको हो।

बसमा सवार यात्रु जिल्ला म्याग्दीको बेनी फुलचौर नगरपालिका वडा नम्बर ९ की ६० बर्षीया फुलमाया बिकले बोकेको कालो झोला (ब्याग) मा खानतलासी गर्दा प्रतिबन्धित इन्जेक्सन लागु औषध फेला परेको थियो।

बरामद गरिएका लागु औषधको विवरण निम्नानुसार रहेको छ:

फेनारगन (Phenargan): ४९८ थान

डाइजोपान (Diazepam): ४९१ थान

नुफिन (Norphine): ४०० थान

व्रोनोफिन (Buprenorphine): १०० थान

जम्मा इन्जेक्सन: १ हजार ४ सय ८९ थान

ठूलो परिमाणमा लागु औषधसहित पक्राउ परेकी फुलमाया बिकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानूनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय गौरमा पठाएको हो ।

सीमानजिकको यो क्षेत्रमा लागु औषधको ओसारपसार हुने गरेको भन्ने सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको र सोही क्रममा यी सफलता हासिल भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले बताए । लागु औषध (नियन्त्रण) ऐन २०३३ अनुसार उनीमाथि मुद्दा चलाइने तयारी भइरहेको डीएसपी कार्कीले जनाए ।

लागु औषध नियन्त्रण ब्यूरोका अनुसार यस प्रकारका इन्जेक्सनहरू (जस्तैः नुफिन, डाइजोपान, फेनारगन) दुर्व्यसनीहरूले प्रयोग गर्ने मनोद्दीपक पदार्थ हुन्, जसको अवैध कारोबार नेपालमा हुने लागु औषध अपराधमध्ये प्रमुख समस्याको रूपमा रहेको छ। प्रहरीले लागु औषध नियन्त्रणको लागि सीमा नाका र प्रमुख ट्राफिक पोइन्टहरूमा चेकजाँचलाई थप कडाइ गरिरहेको जनाएको हो ।

Comments (0)
Add Comment