रौतहट , ०४ कार्तिक
रौतहट क्षेत्र नं १ (क) का प्रदेश सांसद नागेन्द्र साह द्वारा आफ्नो निर्वाचन क्षेत्रमा सञ्चालन गरिएको टावर लाइट योजना अहिले विवादमा परेको छ। स्थानीय बासिन्दाहरूको आरोप अनुसार योजना जनताको सुविधा र सुरक्षाका लागि नभई व्यक्तिगत आम्दानीका लागि दुरुपयोग गरिएको हो।
स्थानीयहरूले बताएका अनुसार यमुना माई नगरपालिका ५ झुनखुन्वा क्षेत्रमा सांसद साहको पहलमा वर्षौं अघि जडान गरिएको टावर लाइट लामो समयदेखि नजलिरहेको छ। सो लाइट सञ्चालनमा नआएपछि स्थानीयवासीहरूले रातको समयमा अन्धकारमा बस्न बाध्य भएको बताएका छन्। विशेष गरी छठ पर्वको समयमा जब गाउँभर श्रद्धालुहरू नदी किनारमा पूजा–अर्चना गर्न भेला हुन्छन्, त्यतिबेला अन्धकारले असुविधा र जोखिम बढाएको गुनासो गरिएको हो ।
झुनखुन्वाका बासिन्दा रामप्रसाद यादव भन्छन्, “हामीले सोचेका थियौँ टावर लाइटले गाउँ उज्यालो बनाउँछ, तर आजसम्म पनि त्यो लाइट जलेको छैन। त्यो जनताको सेवा होइन, ठेकदार र नेताको आम्दानीको साधन बनेको छ।”
अन्य स्थानीयहरूले पनि सांसदले जनताको करका पैसाबाट आएको बजेटलाई पारदर्शी रूपमा प्रयोग नगरेको आरोप लगाएका छन्। उनीहरूका अनुसार, लाइटको मर्मतसम्भार, बिजुली आपूर्ति र सञ्चालनको कुनै प्रबन्ध छैन, जसका कारण लाखौं रुपैयाँको सार्वजनिक सम्पत्ति निष्क्रिय बनेको हो ।