कलैया , ०९ कार्तिक
बाराको सिमावर्ती क्षेत्र सिम्रौनगढ मदिरा तस्करीको ट्रान्जिट प्वाइन्ट बन्दै गएको एक भिडियोले नै प्रमाणित भएको छ। ईलाका प्रहरी कार्यालय सिम्रौनगढ, सशस्त्र प्रहरी गुल्म पिपरपाती र बोडर आउट पोष्ट गोलागंजको मिलोमतोमा मदिरा सहित अन्य समानहरुको तस्करी बढेको उक्त भिडियोले प्रमाणित गरेको छ।
सार्वजनिक भएको भिडियोमा भारतीय प्रहरीले घोडासाहन स्थित शिल पैक मदिराको तस्करी गर्ने एक जना तस्करलाई मदिरा सहित नै पक्राउ गरेको छ। सिम्रौनगढ स्थित सशस्त्र बी.ओ.पी. र नेपाल प्रहरीकै मिलोमतोमा मोटरसाइकलमा भारतको घोडासहन तर्फ जादै गरेको ठूलो परिमाणको मदिरा भारतीय सीमा सुरक्षा बल (एसएसबी) र घोडासहन प्रहरीले पक्राउ गर्नुले सुरक्षा निकायको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ।
घोडासाहन भारतको बिहार राज्य अन्तर्गत रहेकोले बिगत लामो समय देखि बिहारमा मदिरा बिक्री बितरण तथा सेवनमा पुर्ण रुपमा बन्देज लगाईएको छ। बिहारमा मदिरा बिक्री बितरण र सेवनमा पुर्ण रुपमा बन्देज लगाईएको कारण नेपालको सिमावर्ती क्षेत्रमा दशगजामा मदिरा पसलहरु सँचालन हुदै आएको सर्वविदितै छ। उक्त पसलहरुले दिनमा पसल सँचालन गर्नुको साथै रातिको समयमा भारत तर्फ मदिराको तस्करी गर्ने भएको कुरा समेत मदिरा सहित तस्कर पक्राउके प्रमाणित भएको छ।
सिम्रौनगढको स्थानियहरुको अनुसार घोडासाहनमा भेटिएको मदिरा सिम्रौनगढ नगरपालिकास्थित बैरियाबाट तस्करी हुने गरेको छ। सिम्रौनगढ क्षेत्रबाट मदिराको तस्करी हुने कुनै नयाँ घटना नभएको बताउँदै यहाँबाट निरन्तर चलिरहने प्रक्रिया भएको बताएका छन्। साथै सीमावर्ती क्षेत्रमा रहेका सशस्त्र प्रहरी बल र नेपाल प्रहरी बीचको मिलोमतोका कारण तस्करी नियन्त्रणमा आउन नसकेको उनीहरूको आरोप रहेको छ।
सिमानामा खटिएका सुरक्षाकर्मीको आर्थिक प्रलोभनमा तस्करलाई सहयोग गर्ने प्रवृत्तिले राज्यको सीमा सुरक्षा कमजोर बनाएको मात्र छैन, यसले आम नागरिकमा समेत सुरक्षा निकाय प्रतिको विश्वास घटाएको छ। तस्कर र सुरक्षाकर्मी बिचको आर्थिक चलखेलले तस्करीको जालो दिन प्रतिदिन मौलाउँदै गएको छ।भने तस्करीको यो मौलाएको धन्दाले शान्ति सुरक्षामा समेत खलल पुर्याउँदै सामाजिक अपराधलाई बढावा दिएको छ।
स्थानीय नागरिकहरूले सम्बन्धित निकायहरूलाई तत्काल कारबाही गरी सीमानाकामा कडाइ गर्न आग्रह गरिएको छ।