जिल्ला प्रहरी कार्यालयकै नाकमुनिबाट सरकारी मोटरसाइकल चोरी; कलैयामा चोरको बिगबिगीले स्थानीय त्रसित 

बारा, कलैया

बारा जिल्लाको सदरमुकाम कलैया बजार क्षेत्रमा पछिल्लो समय चोरहरूको बिगबिगी ह्वात्तै बढेको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय नजिकै रहेको संवेदनशील क्षेत्रबाट समेत सरकारी मोटरसाइकल चोरी भएको घटनाले स्थानीय प्रशासनको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न चिन्ह खडा भएको छ ।

कलैया उपमहानगरपालिका सरकारकै मोटरसाइकल चोरी

प्रहरी कार्यालयबाट केही मिनेटको दूरीमा रहेको कलैया उपमहानगरपालिका वडा नं. १ स्थित पानिटंकी एरियाको ऐन सेल सेन्टर अफिस नजिक रहेको गल्लीबाट सरकारी कार्यालयको नाममा रहेको मोटरसाइकल चोरी भएको हो । यहि कार्तिक १२ गते रातको करिब ९:३५ बजेको समयमा यो घटना घटेको थियो ।

रोजगार सेवा केन्द्रका शाखा प्रमुख विवेक गुप्ताको घर अगाडि पार्किङ्ग गरी राखिएको कलैया उपमहानगरपालिकाको कार्यालयको नाममा रहेको ना. १ व ३५६५ नम्बरको ब्लेक डेकल रेड रङ्गको बजाज पल्सर १५० टिडि (चेचिस नम्बर MD2A11CY) मोटरसाइकल चोरी भएको हो ।

सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न

जिल्ला प्रशासन कार्यालय बारा र जिल्ला प्रहरी कार्यालयको यति नजिक रहेको मुख्य बजार क्षेत्रबाट समेत चोरीका घटनाहरू निरन्तर बढ्दा र त्यसलाई नियन्त्रण गर्न नसक्दा आम जनतामा ठूलो निराशा छाएको छ । यसले सदरमुकाम कलैयाको शान्ति सुरक्षाको अवस्था कति कमजोर छ भन्ने स्पष्ट पारेको छ ।

सरकारको आफ्नै सम्पत्ति, त्यो पनि जिल्लाको प्रमुख सुरक्षा निकायहरूको नजिकैबाट चोरी हुनुले स्थानीय प्रशासनको गस्ती र सुरक्षा सतर्कतामाथि गम्भीर प्रश्न उठाएको छ । स्थानीय बासिन्दाले चोरीको बढ्दो शृङ्खलाले असुरक्षित महसुस गरेको र चोरहरूलाई तत्काल पक्राउ गरी कारबाही गर्न प्रहरी प्रशासनसँग जोडदार माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयले यस घटनाको अनुसन्धान सुरु गरिसकेको बताए पनि चोरी भएको यतिका दिन बितिसक्दा पनि कुनै सुराक फेला परेको छैन । सदरमुकाममा बढेको यो आपराधिक क्रियाकलापले प्रहरीको ‘नाकमुनि’ बाटै चोरहरूले खुलेआम चुनौती दिइरहेको सन्देश गएको छ ।

Comments (0)
Add Comment