बारा , १४ कार्तिक
बारागढी गाउँपालिका वडा नं. ६ गढहलका वडा अध्यक्ष तथा गाउँपालिका कार्यपालिका सदस्य निरज कुमार साहको उपचारको क्रममा असामयिक निधन भएको छ ।
वडा अध्यक्ष साहको असामयिक निधनले सिंगो गाउँपालिका नै शोकाकुल भएको छ । गाउँपालिका अध्यक्ष अशोक कुमार जयसवालले एक विज्ञप्ति जारी गर्दै स्व. साह प्रति गहिरो श्रद्धाञ्जली व्यक्त गर्दै उनको आत्माको चिर शान्तिको कामना गरेका छन् । साथै उहाँको अन्त्येष्टि कार्यक्रममा गाउँपालिकाका सबै जनप्रतिनिधि र कर्मचारीहरुलाई सहभागिता जनाउन आग्रह समेत गरेका छन् ।
उक्त विज्ञप्ति अनुसार आज शुक्रबार गाउँपालिका भरी शोक बिदा घोषणा गरीएको छ। शोक बिदामा गाउँकार्यपालिकाको कार्यालय, सबै वडा कार्यालय र गाउँपालिका अन्तर्गतका सम्पूर्ण सरकारी निकायहरु बन्द रहनेछन् । साथै, स्व. साहको सम्झनामा राष्ट्रिय झण्डा तीन दिनसम्म आधा झुकाउने निर्णय गरिएको उल्लेख गरीएको छ ।