कलैया, २४ कार्तिक
जनमत पार्टीका जिल्ला इन्चार्ज शिवनाथ पटेल आईतबार जिल्ला निर्वाचन कार्यालय पुगेर त्यहाँको सेवा प्रवाह र कार्यसञ्चालन बारे विस्तृत जानकारी लिनुभएको छ।
निरीक्षणका क्रममा उहाँले निर्वाचन कार्यालयका प्रमुख, कम्प्युटर अपरेटर, तथा सेवा लिन आएका स्थानीय युवाहरूसँग प्रत्यक्ष भेटघाट गर्नुभएको थियो। भेटघाटका क्रममा उहाँले सेवाग्राहीहरूले कार्यालयमा सेवा लिन सहजता र समयमै काम पूरा नहुँदाको समस्या सुनाउनुभएको थियो।
शिवनाथ पटेलले कार्यालयका कर्मचारीहरूलाई जनतालाई अझ छिटो, सहज र पारदर्शी सेवा दिनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “निर्वाचन कार्यालय जनताको सरोकारको प्रत्यक्ष निकाय हो। नागरिकले यहाँ आउनेबित्तिकै सहयोग र सम्मानका साथ सेवा पाउनुपर्छ।”
उहाँले कार्यालयको डिजिटल प्रणाली सुदृढ गर्न, कम्प्युटर सञ्चालनमा दक्ष जनशक्ति थप गर्न, र सेवाग्राहीका लागि जानकारीमूलक बोर्डहरू राख्ने व्यवस्था गर्नुपर्ने सुझाव पनि दिनुभयो।
निरीक्षणका क्रममा उहाँसँगै पार्टीका अन्य कार्यकर्ताहरू पनि उपस्थित थिए। सेवा लिन आएका युवाहरूले इन्चार्ज पटेललाई आफ्नो समस्या राख्दै सेवा छिटो हुने वातावरण बनेकोमा खुसी व्यक्त गरेका थिए।
जनमत पार्टीका जिल्ला इन्चार्ज पटेलले कार्यालय प्रमुखसँग सहकार्य गर्दै आगामी दिनमा पनि प्रशासन र नागरिकबीचको दूरी घटाउने प्रयास निरन्तर रहने बताउनुभयो।