बारा–३ मा ‘नयाँ काङ्ग्रेस’को सन्देश: नीति र नेतृत्व परिवर्तनबाटै देशको रूपान्तरण सम्भव – फर्मुल्लाह मन्सूर

बारा, ०७माघ

नेपाली काङ्ग्रेसभित्र देखिएको नीति र नेतृत्व परिवर्तनले पार्टीलाई जनताको भरोसाको केन्द्र बनाउँदै लगेको दाबी गर्दै बारा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा पूर्व मन्त्री फर्मुल्लाह मन्सूरले ‘बदलिएको काङ्ग्रेस’लाई साथ दिन मतदातासँग आग्रह गर्नुभएको छ।

बारा–३ मा आयोजित चुनावी भेटघाट तथा जनसम्पर्क कार्यक्रमका क्रममा मन्सूरले देश परिवर्तनका लागि पार्टीभित्रै परिवर्तन अपरिहार्य रहेको उल्लेख गर्नुभयो। उहाँका अनुसार काङ्ग्रेस अब पुरानो शैलीबाट बाहिर निस्कँदै जनताको चाहनाअनुसार अघि बढिरहेको छ।

“देश बदल्न बदलिएको काङ्ग्रेस चाहिन्छ”

मन्सूरले नेतृत्व परिवर्तनलाई काङ्ग्रेसको ऐतिहासिक आवश्यकता भएको बताउँदै गगन थापाको उदयलाई जनआकांक्षाको प्रतिफलका रूपमा व्याख्या गर्नुभयो।

“बर्षौँदेखि जनताले चाहेको परिवर्तन पार्टीभित्रै सम्भव छ भन्ने उदाहरण अहिलेको नेतृत्वले दिएको छ,” उहाँले भन्नुभयो, “अनुभवी नेतृत्वलाई सम्मानजनक विश्राम दिँदै नयाँ सोच र ऊर्जासहित काङ्ग्रेस अघि बढिरहेको छ।”

नयाँ नेतृत्व, नयाँ एजेन्डा

मन्सूरका अनुसार अबको काङ्ग्रेसको प्राथमिकता युवाको आकांक्षा सम्बोधन, सुशासन स्थापना, रोजगारी सिर्जना र समावेशी विकास हो। नारामुखी राजनीति भन्दा परिणाममुखी अभ्यास आवश्यक रहेको उहाँको जोड थियो।

“अब भाषण होइन, कामले बोल्ने राजनीति चाहिन्छ,” मन्सूरले भने, “त्यसका लागि काङ्ग्रेस युद्धस्तरमा संगठन र एजेन्डा कार्यान्वयनमा लागेको छ।”

बारा–३ बाट संसदसम्मको अपेक्षा

बारा–३ का मतदातालाई सम्बोधन गर्दै मन्सूरले काङ्ग्रेसलाई संसदमा बलियो र प्रभावकारी बनाउने जिम्मेवारी आफूलाई दिन आग्रह गर्नुभयो। जनताको साथ र मतबाट मात्र लोकतन्त्रलाई सुदृढ बनाउँदै देशलाई सही दिशामा लैजान सकिने उहाँको भनाइ छ।

राजनीतिक विश्लेषकहरूका अनुसार बारा–३ मा मन्सूरले अघि सारेको ‘नयाँ काङ्ग्रेस’को सन्देशले चुनावी बहसलाई व्यक्तिकेन्द्रित भन्दा नीतिकेन्द्रित बनाउने संकेत गरेको छ। अब मतदाताले परिवर्तनको यो दाबीलाई कति विश्वास गर्छन् भन्ने निर्णय मतदानबाट स्पष्ट हुनेछ।

Comments (0)
Add Comment