बारा–२ मा सिए राजेश साहको कडा अभिव्यक्ति, ‘पैसावाल उम्मेदवार’ विरुद्ध तीखो आक्रमण

बारा , १० माघ

जनमत पार्टीबाट बारा क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार सिए राजेश साहले चुनावी अभियानका क्रममा परम्परागत राजनीतिमाथि कडा प्रहार गरेका छन्। उनले ठेकेदार, व्यापारी, पूर्वमन्त्री, सांसद तथा पूर्वकर्मचारीहरूको उम्मेदवारीलाई लक्षित गर्दै राजनीतिलाई सेवा होइन, व्यापार र शक्ति आर्जनको माध्यम बनाइएको आरोप लगाएका छन्।

एक चुनावी कार्यक्रममा बोल्दै साहले अधिकांश पैसावाल उम्मेदवारहरू जनसेवाभन्दा पनि आफ्नो स्वार्थ सुरक्षित गर्न राजनीतिमा प्रवेश गर्ने गरेको दाबी गरे। उनका अनुसार व्यापारीहरू अवैध रूपमा कमाएको धनलाई वैध बनाउन, व्यापार विस्तार गर्न र चन्दाको झमेलाबाट बच्न उम्मेदवार बन्छन् भने ठेकेदारहरू कालोसूचीबाट जोगिन, राज्यका ठेक्का आफ्नै पक्षमा पार्न र शक्ति प्रदर्शन गर्न राजनीतिमा होमिन्छन्।

त्यसैगरी पूर्वमन्त्री र सांसदहरूले चुनावलाई ‘व्यवसाय’ जस्तै प्रयोग गर्ने गरेको आरोप लगाउँदै साहले विगतमा आर्जन गरिएको सम्पत्तिलाई अझै बढाउन र पुराना भ्रष्टाचारका मुद्दाबाट जोगिन उनीहरू सत्तामा टाँसिइरहन चाहने बताए। पूर्वकर्मचारीहरूप्रति पनि कटाक्ष गर्दै उनले जीवनभर जनतालाई शोषण गरेर अन्त्यमा आफ्नो अवैध सम्पत्ति र फाइलहरू लुकाउन चुनावी मैदानमा उत्रिने प्रवृत्ति रहेको टिप्पणी गरे।

साहले यस्ता समूहहरूले राजनीतिलाई जनसेवाको माध्यम होइन, कुकर्म लुकाउने ढाल र शक्ति हासिल गर्ने भर्‍याङ मात्र बनाएको आरोप लगाए। उनले जनतासँग विवेक प्रयोग गर्न आग्रह गर्दै अन्ततः सही निर्णयमार्फत यस्ता प्रवृत्तिलाई पराजित गर्नुपर्ने धारणा राखे।

चुनावी सन्देशको अन्त्यमा साहले लाउड स्पीकर ‘हर्न’ छापमा मतदान गरेर आफूलाई विजयी बनाउन मतदातासँग अपिल गरेका छन्। उनका अभिव्यक्तिले बारा–२ को चुनावी माहोललाई थप तातेको छ भने समर्थक र आलोचकबीच बहससमेत चर्किएको छ।

Comments (0)
Add Comment