बारा , १३ माघ
बाराको मानवत–मटिअर्वा सडक खण्ड अन्तर्गत संस्कार एफ.एम.देखि दुर्गा स्कूलसम्मको करिब ३ किलोमिटर सडक कालोपत्र नबन्दै आएको विरोधमा स्थानीय अटो चालकहरूले सोमबार प्रमुख सडक अवरुद्ध गर्दै आन्दोलन गरेका छन्।
आन्दोलनकारी अटो चालकहरूले उक्त सडक खण्डको अवस्था अत्यन्तै जर्जर रहेकाले दैनिक यातायात सेवामा कठिनाइ भइरहेको, वर्षायाममा हिलो र सुख्खा मौसममा धुलोका कारण यात्रु तथा सवारीसाधन दुवै प्रभावित भइरहेको भन्दै तत्काल पूर्ण कालोपत्र सडक निर्माणको माग गरेका थिए।
स्थानीय अटो व्यवसायी रामकुमार साह ले वर्षा र सुख्खा दुवै मौसममा सडकको अवस्था दयनीय रहेको बताउँदै भने, “धुलो र गहिरा खाल्डाखुल्डीका कारण यात्रु र साना सवारीसाधनलाई ठूलो समस्या भइरहेको छ। यस्तो अवस्थाले आगामी दिनमा दुर्घटनाको जोखिम समेत बढ्ने भएकाले सडक निर्माण अत्यावश्यक छ।”
उक्त सडक खण्डमा दैनिक रूपमा ठूलो संख्यामा आवतजावत हुने भएकाले सडक नबन्दा स्थानीय बासिन्दा, विद्यालय जाने विद्यार्थी, व्यापारी तथा सर्वसाधारण यात्रुहरू प्रत्यक्ष रूपमा प्रभावित हुँदै आएका छन्। आन्दोलनका कारण केही घण्टासम्म सो क्षेत्रमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको थियो।
यसैबीच कलैया उपमहानगरपालिकाका नगरप्रमुख विनोद साह ले आन्दोलनरत पक्षसँग छलफल गर्दै उक्त सडक केन्द्रीय सरकारको मातहतमा पर्ने जानकारी गराएका छन्। नगरप्रमुख साहले संस्कार एफ.एम.तर्फको सडक हाल सञ्चालनमा रहेको उल्लेख गर्दै, नगरपालिकाको पहलमा मर्मत तथा सम्याउने काम गरी आन्दोलनका कारण बन्द भएको सडक पुनः सञ्चालनमा ल्याइएको जानकारी दिएका छन्।
नगरप्रमुख साहले सम्बन्धित निकायसँग समन्वय गरी दीर्घकालीन समाधानका लागि पहल गर्ने प्रतिबद्धता समेत जनाएका छन्।