उपेन्द्र पासवान
बारा, १४ माघ
राष्ट्रिय दलित पत्रकार संघ बारा शाखाले राष्ट्रिय सभाका नव–निर्वाचित सदस्य माननीय धर्मेन्द्र पासवानलाई सम्मान गरेको छ। कलैयामा आयोजित सम्मान कार्यक्रममा संघका अध्यक्ष उपेन्द्र पासवानले माननीय पासवानलाई दोसल्ला ओढाई हार्दिक बधाई ज्ञापन गर्दै सफल र प्रभावकारी कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रममा बोल्दै अध्यक्ष पासवानले धर्मेन्द्र पासवानको राजनीतिक यात्रालाई प्रेरणादायी बताउँदै दलित समुदायको प्रतिनिधित्व राष्ट्रिय तहमा मजबुत हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले समावेशिता, समानता र सामाजिक न्यायका मुद्दामा माननीय पासवानको भूमिकाले सकारात्मक परिवर्तन ल्याउने अपेक्षा रहेको उल्लेख गर्नुभयो।
सम्मान कार्यक्रममा पूर्व मन्त्री कलावती पासवान, राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय सचिव एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवान, तथा नेपाल पत्रकार महासंघ मधेस प्रदेशका कोषाध्यक्ष अनिल कुमार गौरबको विशेष उपस्थिति रहेको थियो। सहभागी वक्ताहरूले दलित समुदायको हक–अधिकार सुनिश्चित गर्न संसदमा सशक्त आवाज उठ्नुपर्नेमा जोड दिँदै माननीय पासवानबाट प्रभावकारी पहल हुने विश्वास व्यक्त गरे।
माननीय धर्मेन्द्र पासवानले सम्मानप्रति आभार व्यक्त गर्दै दलित समुदायसहित सबै उत्पीडित वर्गको अधिकार, समान पहुँच र सामाजिक न्यायका लागि निरन्तर काम गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले पत्रकारिताले सामाजिक रूपान्तरणमा खेलेको भूमिकाको प्रशंसा गर्दै दलित पत्रकार संघसँग सहकार्य गर्दै अघि बढ्ने धारणा राख्नुभयो।
कार्यक्रमले दलित समुदायको प्रतिनिधित्व, समावेशी राजनीति र पत्रकारिताको भूमिकाबारे सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूको भनाइ थियो।