बारा, १६ माघ
बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेद्वारी दिएका इन्जिनियर अरबिन्द साहको चुनावी गतिविधिले क्षेत्रमै तीव्र आलोचना जन्माएको छ। आफूलाई बारा जिल्ला र क्षेत्र नम्बर ३ को विकासको सपना बाँड्ने उम्मेद्वारका रूपमा प्रस्तुत गर्दै आएका साहलाई गाउँको नाम समेत यकिन जानकारी नभएको आरोप सार्वजनिक रूपमा उठेको छ।
रातारात उज्यालो पार्टी नेपाल र बारा क्षेत्र नम्बर २ छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा–३ मा उम्मेद्वारी दिएका साह बुधबार फेटा गाउँपालिका वडा नम्बर ६ मा घरदैलो कार्यक्रममा पुगेका थिए। तर उनका आधिकारिक सामाजिक सञ्जाल पेज ‘Er. Arvind Sah सचिवालय’ बाट गरिएको पोस्टमा उक्त स्थानलाई ‘पुरनिया टोल’ उल्लेख गरिएको थियो।
सामाजिक सञ्जालमा चर्को विरोध र प्रश्न उठेपछि उक्त पोस्ट सम्पादन गर्दै ‘पुरनिया टोल’ हटाई फेटा गाउँपालिका वडा नम्बर ६ मात्र उल्लेख गरिएको देखिन्छ। यस घटनापछि स्थानीयस्तरमा “गाउँको नामसम्म नचिनेका उम्मेद्वारले विकास कसरी गर्छन्?” भन्ने प्रश्न तीव्र रूपमा उठ्न थालेको छ।
यसैबीच, उज्यालो पार्टीबाट बारा क्षेत्र नम्बर २ मा उम्मेद्वारी घोषणा गर्दा साहले ‘एक घर, एक रोजगारी’ दिने प्रतिबद्धता सार्वजनिक रूपमा व्यक्त गरेका थिए। तर त्यसपछि पार्टी र निर्वाचन क्षेत्र नै परिवर्तन गर्नुले उनका अघिल्ला प्रतिबद्धताप्रति समेत शंका उत्पन्न भएको स्थानीयको भनाइ छ।
खल्ती एप्सका निर्देशकसमेत रहेका साहले बारा–२ मा लामो समय आश्वासन र भाषण दिएपछि अचानक पार्टी र क्षेत्र परिवर्तन गरेको विषयलाई लिएर राजनीतिक उद्देश्य र निष्ठामाथि प्रश्न उठाइएको छ। आलोचकहरूका अनुसार विकासका ठूला सपना बाँड्नु भन्दा पहिला उम्मेद्वारले स्थानीय भूगोल, समुदाय र यथार्थ बुझ्न आवश्यक हुन्छ।
यस घटनाले इन्जिनियर साहको चुनावी तयारी, स्थानीय बुझाइ र विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा गरेको छ। चुनाव नजिकिँदै जाँदा उम्मेद्वारको बोली, व्यवहार र तथ्यप्रति मतदाताको सूक्ष्म निगरानी अझ तीव्र बन्दै गएको देखिन्छ।