बारा–३ : इन्जिनियर अरविन्द साहको जितपुरमा घरदैलो, मतदातासँग प्रत्यक्ष संवाद

बारा , १८ माघ

बारा–३ प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिएका इन्जिनियर अरविन्द साहले कलैया उपमहानगरपालिका–१४ जितपुर क्षेत्रमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम तीव्र पारेका छन्।

घरदैलोका क्रममा साहले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रका मुख्य समस्या, विकासका आवश्यकता र जनताको अपेक्षा सुनेका थिए। मतदाताहरूले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य सेवा तथा रोजगारीको विषय उठाउँदै दीर्घकालीन समाधानको माग गरेका थिए।

उम्मेदवार साहले जनताले भोग्दै आएका समस्यालाई नजिकबाट बुझेर व्यावहारिक र दिगो समाधानका लागि आफू चुनावी मैदानमा आएको बताए। “राजनीतिमा इमान्दारिता, पारदर्शिता र दक्षता आवश्यक छ। इन्जिनियरिङ पृष्ठभूमिबाट आएको व्यक्तिका रूपमा विकासलाई योजनाबद्ध ढंगले अघि बढाउने मेरो प्रतिबद्धता छ,” उनले भने।

उनले पुरानो राजनीतिक अभ्यासले जनताको विश्वास गुमाउँदै गएको उल्लेख गर्दै नयाँ सोच, नयाँ कार्यशैली र जवाफदेही नेतृत्व आवश्यक रहेको धारणा राखे। रास्वपाले बोकेको सुशासन, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र सेवामुखी राजनीति नै आफ्नो मुख्य एजेन्डा रहेको साहको भनाइ थियो।

घरदैलो कार्यक्रममा रास्वपाका स्थानीय नेता–कार्यकर्ता, स्वयंसेवक तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। स्थानीय युवाहरूले नयाँ अनुहार र पेशागत रूपमा सक्षम उम्मेदवारप्रति चासो देखाउँदै समर्थन जनाएका थिए।

जितपुर क्षेत्रका मतदातासँगको भेटघाटले आफूलाई थप ऊर्जा र उत्साह मिलेको बताउँदै साहले आगामी दिनमा पनि बारा–३ का सबै स्थानीय तहमा पुगेर जनताको आवाज सुन्ने अभियानलाई निरन्तरता दिने बताएका छन्।

Comments (0)
Add Comment