बारा, १९ माघ
नेपाल–भारत सीमावर्ती क्षेत्र मटिअर्वा नाकामा पुनः लागूऔषध तस्करीको गम्भीर घटना सार्वजनिक भएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको निरन्तर उपस्थिति रहेको उक्त नाकाबाट दशगजा भित्रै हुँदै भारततर्फ लगिँदै गरेको ५.०५ केजी गाँजासहित एक नेपाली महिला भारतीय सुरक्षाकर्मीको संयुक्त कारबाहीमा पक्राउ परेकी छन्। घटनाले सीमामा नेपाली सुरक्षाको प्रभावकारिता र निगरानी प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ।
इन्टेलिजेन्स सेटअप ७१ बटालियन मोतिहारीबाट प्राप्त गोप्य सूचनाका आधारमा ‘C’ कम्पनी बेलदरवा मठ, ७१ बटालियन मोतिहारी तथा बिहार प्रहरीको संयुक्त टोलीले आईतबार बेलुका ६:४५ बजे विशेष अपरेसन सञ्चालन गरेको थियो। सो अपरेसन मटियार्वा पोस्ट अन्तर्गत पर्ने INB BP नं. ३८४ नजिकै, भारततर्फ करिब ५० मिटर दूरीमा रहेको लाला छपरा गाउँ आसपास केन्द्रित गरिएको थियो।
संयुक्त टोलीले शंकास्पद गतिविधि निगरानीका क्रममा झोलासहित ५.०५ केजी गाँजा बरामद गरेको हो। सोही क्रममा एक महिलालाई नियन्त्रणमा लिइएको सुरक्षा स्रोतले पुष्टि गरेको छ। पक्राउ परेकी महिला आजमा खातुन (३५ वर्ष) हुन्। उनी सोबराती मियाँकी पत्नी तथा बारा जिल्ला, प्रसौनी गाउँपालिका–०२ की स्थायी बासिन्दा रहेको खुलाइएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार बरामद गाँजा नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएको अवस्थामा फेला परेको हो। घटनास्थल नेपाली सुरक्षाकर्मीको नियमित गस्ती र निगरानी क्षेत्रसँग अत्यन्त नजिक पर्नुले सीमावर्ती नाकामा लागूऔषध तस्करी कति सहज बनेको छ भन्ने यथार्थ उजागर गरेको छ। स्थानीयवासीहरूले पटक–पटक सीमामा तस्करी बढ्दै गएको गुनासो गर्दै आए पनि प्रभावकारी नियन्त्रण नदेखिएको आरोप लगाउँदै आएका छन्।
बरामद सामग्री र पक्राउ परेकी महिलालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि आदापुर प्रहरी चौकीमा बुझाउने प्रक्रिया अघि बढाइएको जनाइएको छ। भारतीय सुरक्षाकर्मीले तस्करी सञ्जाल, सम्भावित संलग्न व्यक्ति तथा मार्गबारे विस्तृत अनुसन्धान तीव्र बनाएको बताएका छन्।
उक्त घटनाले नेपाल–भारत सीमामा लागूऔषध तस्करीविरुद्ध समन्वय, सूचना आदान–प्रदान र निगरानी प्रणालीलाई थप कडा बनाउनुपर्ने आवश्यकता पुनः स्पष्ट पारेको छ। साथै, आफ्नै नाकाबाट खुलेआम भइरहेको तस्करी रोक्न नेपाली सुरक्षा निकायको भूमिकामाथि गहिरो समीक्षा अनिवार्य देखिएको छ।