बारा , २० माघ
जिल्ला प्रशासन कार्यालय बाराले आगामी निर्वाचनलाई लक्षित गर्दै मतदाताको गोपनीयता सुनिश्चित गर्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरू र सञ्चारमाध्यमप्रति कडा चेतावनी जारी गरेको छ। फेसबुक, युट्युब लगायतका प्लेटफर्ममा ‘कुन पार्टी वा चुनाव चिह्नमा मतदान गर्नुहुन्छ?’ भन्ने प्रश्न सोध्नु निर्वाचन आचारसंहिता उल्लङ्घन हुने हुँदा यसबाट बच्न आग्रह गरिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन आचारसंहिता अनुगमन अधिकृत छविरमण भट्टराईले सोमबार प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ कि केही अनलाइन सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले मतदातासँग यस्तो प्रश्न गरी गोपनीयता भङ्ग गर्ने प्रयास गरिरहेको सूचना प्राप्त भएको छ।
भट्टराईका अनुसार मतदान सम्बन्धी विषय पूर्ण रूपमा गोप्य रहने व्यवस्था संविधान तथा निर्वाचन कानुनले सुनिश्चित गरेको छ। यसकारण, यस प्रकारका गतिविधि निर्वाचन आचारसंहिताविपरीत हुने र मतदाता स्वतन्त्रता तथा निष्पक्षतालाई कमजोर पार्ने खतरा रहेको विज्ञप्तिमा चेतावनी दिइएको छ।
विज्ञप्तिमा भनिएको छ, “यदि कसैले निर्वाचन आचारसंहिता उल्लङ्घन गरी यस्ता प्रश्न सोध्ने कार्य जारी राख्यो भने प्रचलित कानून अनुसार कारबाही गरिनेछ।”
जिल्ला प्रशासन कार्यालयले निर्वाचन प्रक्रियालाई स्वतन्त्र, निष्पक्ष, गोप्य र मर्यादित बनाउन सबै पक्षलाई जिम्मेवार भएर आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरेको छ। प्रशासनको यस कदमले मतदाता सुरक्षा र लोकतान्त्रिक अधिकारको रक्षा सुनिश्चित गर्ने उद्देश्य राखेको बताइएको छ।
विशेषगरी निर्वाचन नजिकिँदै गर्दा सामाजिक सञ्जालमा गलत जानकारी, मतदाता दबाब वा मत गोपनीयतामा हस्तक्षेप गर्ने प्रवृत्ति बढ्ने भएकाले प्रशासनले सतर्कता अपनाउन आवश्यक देखिएको छ।