जनताको चाहना यसपालि घण्टीको सरकार 

कलैया,२१ माघ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका इन्जिनियर अरबिन्द साहले कलैया उपमहानगरपालिकाको वडा नम्बर २७ मा आज घरदैलो तथा जनतासँग प्रत्यक्ष भेटघाट कार्यक्रम सम्पन्न गरेका छन्। अभियानका क्रममा स्थानीय बासिन्दाले यसपालि परिवर्तनको अपेक्षासहित ‘घण्टी’ चुनाव चिह्नप्रति आकर्षण बढेको बताएका छन्।

घरदैलो कार्यक्रममा सहभागी स्थानीय ८० वर्षीय अनवर महतोले आफूले विगतमा सबैजसो राजनीतिक दलका उम्मेदवारलाई मतदान गरिसकेको उल्लेख गर्दै यसपालि भने परिवर्तनको आशाको किरण बनेको घण्टी चिन्हमा नै मतदान गर्ने बताएका छन्। “धेरै वर्ष भयो, सबैलाई मौका दिएँ। तर जनताको समस्या जस्ताको तस्तै रह्यो,” महतोले भने, “अब नयाँ सोच र इमानदार नेतृत्व चाहिन्छ, त्यसैले घण्टीमा मतदान गर्छु।”

त्यसैगरी स्थानीय मिना देवीले पुराना दल र नेताहरूबाट जनता दिक्क भइसकेको बताउँदै यसपालि बालेन शैलीको सुशासन र जवाफदेहिताको सरकार बनाउन घण्टीमा मतदान गर्ने बताइन्। “पहिले निर्वाचित भएका नेताहरूको कारणले गरीब झन् गरीब हुँदै गएको छ,” उनले भनिन्, “अब परिवर्तन चाहिन्छ, त्यसका लागि घण्टी नै सही विकल्प हो।”

घरदैलो क्रममा स्थानीयले बेरोजगारी, महँगी, शिक्षा र स्वास्थ्य सेवाको पहुँच, तथा भ्रष्टाचार नियन्त्रणजस्ता विषयमा गुनासा राखेका थिए। उम्मेदवार साहले जनताका समस्या ध्यानपूर्वक सुन्दै आफू निर्वाचित भए जनताको प्राथमिकताका आधारमा काम गर्ने प्रतिबद्धता जनाए। उनले राजनीति पेशा नभई सेवाको माध्यम हुनुपर्ने धारणा राख्दै पारदर्शिता, जवाफदेहिता र परिणाममुखी कामलाई आफ्नो मुख्य एजेन्डा बनाएको बताए।

रास्वपाले जिल्लाभरि घरदैलो, टोलसभा र प्रत्यक्ष संवाद कार्यक्रमलाई तीव्र बनाउँदै लगेको छ। पार्टीका अनुसार स्थानीय तहदेखि संघीय तहसम्म नयाँ राजनीतिक संस्कार स्थापित गर्ने लक्ष्यसहित जनतासँग निरन्तर संवाद भइरहेको छ।

आगामी निर्वाचन नजिकिँदै जाँदा कलैया र आसपासका क्षेत्रमा घण्टी चुनाव चिह्नप्रति जनसमर्थन बढ्दै गएको देखिएको छ। स्थानीय मतदाताहरूले यसपालि परिवर्तनका लागि नयाँ विकल्प रोज्ने संकेत गरेका छन्।

Comments (0)
Add Comment