बारा–३ मा जसपा नेपालका उम्मेदवार रामबाबु कुमार यादवको घरदैलो अभियान तीव्र
कलैया, २१ माघ
बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का तर्फबाट उम्मेदवारी दिएका पूर्व सांसद रामबाबु कुमार यादवले कलैया उपमहानगरपालिका–६ अन्तर्गत पर्सा टोलमा घरदैलो कार्यक्रम सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष भेटघाट गरेका छन्।
घरदैलो अभियानका क्रममा यादवले स्थानीय बासिन्दाको घर–घरमा पुगेर उनीहरूका समस्या, गुनासा र अपेक्षाहरू सुनेका थिए। उनले आफू निर्वाचित भएमा क्षेत्रको समग्र विकास, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक तथा ढल व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
पूर्व सांसद यादवले विगतमा आफूले संसदमा रहँदा बारा–३ का जनताको आवाज उठाएको उल्लेख गर्दै अधुरा विकास योजनाहरूलाई पूरा गर्ने आफ्नो मुख्य लक्ष्य रहेको बताए। “जनतासँग प्रत्यक्ष संवाद गरेर मात्र वास्तविक समस्या बुझ्न सकिन्छ,” उनले भने, “जनताको भरोसा नै मेरो शक्ति हो।”
घरदैलो कार्यक्रममा सहभागी स्थानीयवासीहरूले सडकको अवस्था, रोजगारीको अभाव, युवा पलायन, खानेपानी समस्या तथा स्वास्थ्य सेवाको पहुँचबारे आफ्ना कुरा राखेका थिए। सो अवसरमा यादवले ती समस्याहरूलाई प्राथमिकताका आधारमा समाधान गर्ने आश्वासन दिएका छन्।
कार्यक्रममा जसपा नेपालका स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहेको थियो। उनीहरूले आगामी निर्वाचनमा पार्टीको चुनाव चिह्नमा मतदान गरी यादवलाई विजयी गराउन आग्रह गरेका थिए।
जसपा नेपालले बारा–३ मा संगठन विस्तारसँगै घरदैलो, कोणसभा र जनसम्पर्क कार्यक्रमलाई तीव्र बनाएको छ। उम्मेदवार यादवको घरदैलो अभियानले स्थानीय तहमा चुनावी माहोल थप तातेको देखिएको छ।