बारा क्षेत्र नं. ३ मा प्रमोद गुप्ताको लहर, घरदैलोमा आपार जनसमर्थन पाउँदै
कलैया, २१ माघ
प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा जनमत पार्टीका बारा निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार प्रमोद गुप्ताले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्। उनले क्षेत्रका आमाडार, खेस्रौल, बरेवा लगायतका विभिन्न स्थानमा घरदैलो कार्यक्रम सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष भेटघाट तथा आशिर्वाद लिएका छन्।
घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार गुप्ताले स्थानीय बासिन्दाका समस्या, गुनासा र अपेक्षाहरू ध्यानपूर्वक सुन्दै आफू निर्वाचित भए विकास, सुशासन, रोजगारी र जनताको हितलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, खानेपानी तथा युवाको रोजगारी जस्ता विषयलाई प्राथमिक एजेन्डाका रूपमा अघि बढाउने बताए।
स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै गुप्ताले जनमत पार्टीको नीति, कार्यक्रम तथा भावी योजनाबारे जानकारी गराएका थिए। लामो समयदेखि उपेक्षित क्षेत्रमा समुचित विकास आवश्यक रहेको उल्लेख गर्दै उनले जनताको विश्वास र समर्थनले मात्र परिवर्तन सम्भव हुने धारणा राखे।
यसै क्रममा गुप्ताले कलैया उपमहानगरपालिका वडा नं. ११ मा जनमत पार्टीको निर्वाचन प्रचार कार्यालयको उद्घाटनसमेत गरेका छन्। प्रचार कार्यालय उद्घाटनसँगै उक्त वडामा चुनावी गतिविधि थप सशक्त र व्यवस्थित हुने जनमत पार्टीले जनाएको छ। प्रचार कार्यालयलाई चुनावी रणनीति निर्माण तथा मतदातासँग नियमित समन्वय गर्ने केन्द्रका रूपमा प्रयोग गरिने बताइएको छ।
घरदैलो कार्यक्रममा स्थानीय नागरिकको उल्लेख्य सहभागिता देखिएको थियो। नागरिकहरूको उत्साहजनक उपस्थितिले उम्मेदवार गुप्ताप्रति जनसमर्थन दिनानुदिन बढ्दै गएको संकेत गरेको जनमत पार्टीका नेताहरूले बताएका छन्। स्थानीय बासिन्दाले यसपटक नयाँ सोच र नयाँ नेतृत्वलाई अवसर दिनुपर्ने धारणा राख्दै गुप्तालाई समर्थन जनाएका थिए।
घरदैलो तथा चुनावी अभियानमा जनमत पार्टीका नेता शिवनाथ पटेल, किशमती देवी राम, द्वारिका प्रसाद यादव, सन्तोष पटेल, विनोद यादव, सुजित पाण्डेय लगायत अन्य नेता तथा कार्यकर्ताको सक्रिय सहभागिता रहेको थियो।
जनताको उल्लेख्य साथ र समर्थनले बारा क्षेत्र नं. ३ मा जनमत पार्टीको चुनावी अभियान थप उत्साहजनक बन्दै गएको देखिएको छ।