पर्यटन विकास कार्यालय पर्सामा अख्तियारको छापा भ्रष्टाचारको गम्भीर आशंका, कागजात र कम्प्युटर नियन्त्रणमा

पर्सा , २२ माघ

पर्यटन विकास कार्यालय पर्सामा व्यापक अनियमितता र भ्रष्टाचार भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) को टोलीले आकस्मिक रूपमा छापा मारेको छ। कार्यालय प्रमुख बबिता जयसवाल र लेखापाल सुबोध यादवको मिलोमतोमा आर्थिक अनियमितता भएको भन्दै परेको उजुरीको आधारमा आयोगको टोलीले बुधबार बिहानदेखि कार्यालयमा छानबिन थालेको हो।

अख्तियार स्रोतका अनुसार कार्यालयमा भएका आर्थिक कारोबार, योजना छनोट, बजेट विनियोजन तथा खर्च, सार्वजनिक खरिद प्रक्रिया र प्रशासनिक निर्णयहरू शंकाको घेरामा परेका छन्। छानबिनका क्रममा कार्यालयका कम्प्युटर, फाइल, बिल–भर्पाई, ठेक्का सम्झौता, योजनासम्बन्धी कागजात तथा अन्य महत्वपूर्ण दस्तावेजहरू नियन्त्रणमा लिइएको छ।

छापाका क्रममा कार्यालय प्रमुख जयसवालसहित सम्बन्धित कर्मचारीहरूसँग प्रारम्भिक सोधपुछ गरिएको अख्तियार स्रोतले जनाएको छ। यद्यपि आयोगले हालसम्म छानबिनको आधिकारिक विवरण सार्वजनिक गरेको छैन।

स्रोतका अनुसार पर्यटन पूर्वाधार विकास, तालिम, कार्यक्रम सञ्चालन तथा अन्य शीर्षकमा खर्च गरिएको बजेटमा अपारदर्शिता, नियमविपरीत योजना छनोट, कागजात मिलान नगरी भुक्तानी र मिलेमतोमा ठेक्का व्यवस्थापन गरिएको भन्ने गुनासो लामो समयदेखि उठ्दै आएको थियो। ती गुनासोहरू विभिन्न निकायमा लिखित रूपमा दर्ता भएपछि अख्तियारले प्रारम्भिक अध्ययन गरी छापा मार्ने निर्णय गरेको बताइएको छ।

अख्तियारको छापापछि कार्यालय परिसर सुनसान देखिएको छ भने कर्मचारीहरू त्रसित अवस्थामा रहेका छन्। केही कर्मचारीहरू आवश्यक कागजात नपुगेको बहानामा कार्यालय बाहिर निस्कन खोज्दा अख्तियार टोलीले रोक लगाएको स्रोतको दाबी छ।

अख्तियारले संकलित कागजातहरूको विस्तृत अध्ययनपछि आवश्यक देखिएमा थप बयान, अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइने जनाएको छ। यस घटनाले पर्सा जिल्लामा सरकारी कार्यालयहरूमा भइरहेका कथित अनियमिततामाथि पुनः गम्भीर प्रश्न उठाएको छ।

छानबिनको निष्कर्ष सार्वजनिक भएसँगै दोषी देखिएमा कानुनअनुसार कडा कारबाही हुने अख्तियारको भनाइ छ।

Comments (0)
Add Comment