बारा , २३ माघ
आगामी निर्वाचनलाई लक्षित गर्दै बारा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएको छ। यसैक्रममा निजगढ नगरपालिका अन्तर्गत पुरानो निजगढ, लाल गाउँ, रतनपुरी लगायतका विभिन्न स्थानमा जनमत पार्टीको घरदैलो तथा जनतासँग प्रत्यक्ष भेटघाट कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमका क्रममा लाउडस्पिकर हर्न बजाउँदै पार्टीका कार्यकर्ता तथा समर्थकहरू टोल–टोलमा पुगेका थिए। घरदैलो अभियानमा जनमत पार्टीका उम्मेदवार डा. कमरुल्लाह अंसारीले मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना एजेन्डा र भावी योजनाहरू प्रस्तुत गरेका थिए। स्थानीय विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा सुशासनका विषयमा जनताको चासो सुन्दै समाधानका प्रतिबद्धता व्यक्त गरिएको थियो।
स्थानीयवासीहरूले यसपटक बारा–१ मा परिवर्तनको चाहना बलियो रहेको बताएका छन्। लामो समयदेखि उपेक्षित क्षेत्रको विकास र जनताको आवाज संसदसम्म पुर्याउन सक्ने सक्षम उम्मेदवारको खोजीमा आफूहरू रहेको उनीहरूको भनाइ छ। जनताको यही आशा र विश्वास जनमत पार्टीप्रति केन्द्रित हुँदै गएको देखिएको छ।
जनमत पार्टीका नेताहरूले बारा–१ का सम्पूर्ण जनताको एक मात्र रोजाइ जनमत पार्टी भएको दाबी गर्दै लाउडस्पिकर हर्न छापका उम्मेदवार डा. कमरुल्लाह अंसारीलाई विजयी गराउन आह्वान गरेका छन्। उनीहरूले पार्टी अध्यक्ष डा. सीके राउतको नेतृत्वमा मधेश र देशभर सकारात्मक परिवर्तनको लहर चलेको उल्लेख गर्दै बारा–१ पनि यस परिवर्तनको केन्द्र बन्ने विश्वास व्यक्त गरे।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले
“जनमत पार्टी जिन्दाबाद!”,
“डा. सीके राउत जिन्दाबाद!”,
“डा. कमरुल्लाह अंसारी जिन्दाबाद!”
र “लाउडस्पिकर हर्न छाप जिन्दाबाद!”
जस्ता नाराहरू लगाउँदै उत्साहपूर्ण समर्थन जनाएका थिए।
जनमत पार्टीले आगामी दिनहरूमा पनि बारा–१ का अन्य क्षेत्रहरूमा घरदैलो तथा जनसम्पर्क कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।