बारा , २५ माघ
बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका पूर्व निर्वाचित सांसद रामबाबु यादवले अधूरा विकासका कामलाई पूर्णता दिने लक्ष्यसहित पुनः उम्मेदवारी दिएको बताएका छन्। निरन्तर भेला, भेटघाट तथा घरदैलो कार्यक्रममार्फत उनी अहिले मतदातामाझ सक्रिय रूपमा उपस्थित भइरहेका छन्।
यादव २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा बारा–३ बाट निर्वाचित भएका थिए। आफ्नो कार्यकालमा क्षेत्रको समग्र विकासका लागि विभिन्न योजना ल्याएको दाबी गर्दै उनले कतिपय योजनाहरू कार्यान्वयनको चरणमा पुग्दापुग्दै रोकिएको बताए। २०७९ सालको निर्वाचनमा पराजित भए पनि आफू जनताको सेवाबाट कहिल्यै टाढा नभएको उनको भनाइ छ।
“निर्वाचित हुँदा सुरु गरेका धेरै योजना बीचमै रोकिए, जुन आज पनि अधूरै छन्,” यादवले स्थानीय भेलामा भने, “ती अधूरा विकास निर्माणका कामलाई पूरा गर्नु नै मेरो पुनः उम्मेदवारीको मुख्य कारण हो।”
उनका अनुसार ती योजनाहरू जनताको आवश्यकता र मागका आधारमा तयार गरिएका थिए, तर राजनीतिक परिवर्तन र निरन्तरताको अभावले अपेक्षित परिणाम दिन सकेनन्।
आगामी निर्वाचनका लागि जापान पार्टीबाट उम्मेदवार बनेका यादवले अहिले बारा–३ का विभिन्न गाउँ, टोल र बस्तीमा पुगेर घरदैलो तथा जनसम्पर्क अभियानलाई तीव्र बनाएका छन्। उनले मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो अघिल्लो कार्यकालका अनुभव, उपलब्धि र भविष्यका योजनाबारे जानकारी गराइरहेका छन्।
चुनावी भेटघाटका क्रममा यादवले विकास, जनसेवा र स्थानीय समस्याको समाधानलाई प्राथमिक एजेन्डा बनाएको बताएका छन्। सडक, शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारीका विषयमा ठोस योजना अघि सार्दै उनले “अधूरा काम पूरा गर्न एकपटक फेरि मौका दिन” मतदातासँग आग्रह गरेका छन्।
बारा–३ मा चुनावी गतिविधि दिनप्रतिदिन तीव्र बन्दै गएको छ। विभिन्न उम्मेद्वारका दाबी, प्रतिबद्धता र अभियानले राजनीतिक माहोल थप तातेको देखिन्छ। यसैबीच, पूर्व सांसद यादवको निरन्तर सक्रियता, घरदैलो अभियान र अनुभवलाई लिएर स्थानीय तहमा चर्चा पनि बढ्दै गएको छ।