हरिकिशोर शर्मा
पर्सा , २५ माघ
पर्सा जिल्लाका दुई गाउँपालिका—पटेर्वा सुगौली र जिराभवानी—लाई जोड्ने भलुवाही खोलामा निर्माण हुन लागेको बहुप्रतिक्षित पुल अन्ततः निर्माण प्रक्रियाको निर्णायक चरणमा पुगेको छ। करिब दुई दशकदेखि अलपत्र अवस्थामा रहेको यो पुलको अन्तिम प्राविधिक निरीक्षण सम्पन्न भएसँगै यही महिनाभित्र ठेक्का प्रक्रिया अघि बढ्ने तयारी गरिएको छ।
पटेर्वा सुगौली गाउँपालिका–४ र जिराभवानी गाउँपालिका–५ लाई जोड्ने यो पुल स्थानीय जनजीवन, आवतजावत र आर्थिक गतिविधिसँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण संरचना हो। लामो समयसम्म योजना कागजमै सीमित रहँदा स्थानीयवासी निराश थिए। तर गाउँपालिकाको निरन्तर पहल र समन्वयका कारण अब पुल निर्माणले मूर्त रूप लिने संकेत देखिएको छ।
गाउँपालिकाले पुलको पूर्वतर्फ ४० मिटर र पश्चिमतर्फ २० मिटर थप गर्दै नयाँ डिजाइनअनुसार संरचना निर्माण गर्ने तयारी गरेको छ। थरुहट सडक परियोजना अन्तर्गत विश्व बैंकको आर्थिक सहयोगमा निर्माण हुन लागेको यस पुलका लागि आवश्यक प्राविधिक प्रक्रिया पूरा भइसकेको छ भने टेन्डरसम्बन्धी तयारीहरू तीव्र रूपमा अघि बढाइएको छ।
अन्तिम निरीक्षणका क्रममा गाउँपालिका अध्यक्ष दिनेश चौधरी स्वयं निर्माणस्थलमा पुगेर प्राविधिक टोलीसँग छलफल गरेका थिए। उनले पुल निर्माणमा गुणस्तर, समयसीमा र दिगोपनालाई उच्च प्राथमिकता दिइने स्पष्ट पार्दै कुनै पनि किसिमको लापरवाही स्वीकार्य नहुने बताए। सामाजिक सञ्जालमार्फत निरीक्षणका तस्बिर सार्वजनिक गर्दै उनले विकासप्रति आफ्नो प्रतिबद्धता व्यवहारमै देखिने सन्देश दिएका छन्।
यस विषयमा प्रतिक्रिया दिँदै गाउँपालिका उपाध्यक्ष ममता महतोले भलुवाही पुल दशकौँदेखि अधुरो रहँदा स्थानीय नागरिकले ठूलो सास्ती भोग्नुपरेको बताइन्। उनले यो पुल पटेर्वा सुगौली–४ र जिराभवानी–५ लाई जोड्ने थरुहट सडकको मुख्य तथा रणनीतिक कडी भएको उल्लेख गरिन्। पुलको ठेक्का प्रक्रिया पुनः अघि बढाउन अध्यक्ष दिनेश चौधरी, प्रमुख प्रशासकीय अधिकृत प्राण मेहता र आफूबीचको संयुक्त प्रयास निर्णायक बनेको उनको भनाइ छ।
उपाध्यक्ष महतोले विकास निर्माणका विषयमा नकारात्मक प्रचारभन्दा जिम्मेवार निगरानी र सहकार्य आवश्यक रहेको धारणा राख्दै सबै पक्षलाई तथ्य बुझेर मात्र प्रतिक्रिया दिन आग्रह गरिन्। उनका अनुसार, जनप्रतिनिधि, कर्मचारी र स्थानीय समुदायबीचको समन्वयले मात्र ठूला विकास आयोजना सफल बनाउन सकिन्छ।
भलुवाही खोलामा पुल निर्माण सुरु भएसँगै यस क्षेत्रका हजारौँ नागरिकको दैनिक आवतजावत सहज हुने, वर्षायाममा हुने जोखिम न्यूनीकरण हुने र आपतकालीन सेवा प्रभावकारी बन्ने अपेक्षा गरिएको छ। साथै, स्थानीय व्यापार, कृषि र सामाजिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन्।
दशकौँदेखिको प्रतीक्षापछि पुल निर्माणको बाटो खुलेसँगै भलुवाही क्षेत्र अब विकास र समृद्धितर्फ अघि बढ्ने आशा बलियो बनेको छ।