रौतहट, २५ माघ
आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले मधेश प्रदेशमा आफ्नो सक्रियतालाई तीव्रता दिएको छ। ‘मिसन ८२’ अन्तर्गत मधेश प्रदेशमा स्पष्ट दुई तिहाई बहुमत प्राप्त गर्ने महत्त्वाकांक्षी लक्ष्यका साथ पार्टीले मधेश प्रदेश निर्वाचन सम्पादन समिति २०८२ गठन गरेको हो ।
पार्टीका मधेश प्रदेश प्रवक्ता रन्जित राम को संयोजकत्वमा २१ सदस्यीय शक्तिशाली समिति गठन गरी निर्वाचन केन्द्रित गतिविधि अगाडि बढाइएको हो। पार्टीले रामलाई समितिको संयोजक पदमा मनोनयन गर्दै औपचारिक रूपमा जिम्मेवारी सुम्पिएको हो ।
पार्टीद्वारा जारी मनोनयन पत्रमा उल्लेख भएअनुसार यस समितिको मुख्य उद्देश्य प्रतिनिधि सभामा आवश्यक शक्ति र संख्या प्राप्त गरी केन्द्रमा एक सबल र स्थिर सरकार निर्माण गर्नु रहेको हो । मधेश प्रदेशका सबै निर्वाचन क्षेत्रहरूमा रास्वपाको पक्षमा जनलहर सिर्जना गरी दुई तिहाई मत प्राप्त गर्न रणनीतिक योजना बनाउने, स्पष्ट बहुमतमार्फत देशको आन्तरिक सबलता र बाह्य सम्बन्धलाई सुदृढ बनाउँदै विकासको नयाँ मोडल अवलम्बन गर्ने, प्रदेशका प्रत्येक जिल्ला र टोल तहसम्म पार्टीको उपस्थिति बलियो बनाउन विभिन्न प्रशिक्षण, भेला र प्रचार-प्रसारका कार्यक्रमहरू सञ्चालन गर्ने, समितिको संयोजकमा मनोनित भएपछि प्रवक्ता रन्जित रामले मधेशको माटो र भावनालाई बुझेर पार्टीले दिएको जिम्मेवारी सफलतापूर्वक बहन गर्ने प्रतिबद्धता व्यक्त गरे। रास्वपाले मधेश प्रदेशमा विद्यमान राजनीतिक बेथिति, भ्रष्टाचार र विकासको मन्द गतिलाई अन्त्य गर्न आफ्नो पार्टी नै एक मात्र विकल्प रहेको दाबी गर्दै आएको हो ।
पार्टी नेतृत्वले यस समितिले निर्वाचनका क्रममा हुने प्राविधिक, राजनीतिक र सांगठनिक चुनौतीहरूलाई चिर्दै मधेशमा ‘घण्टी’ को लहर ल्याउने विश्वास लिएको हो । आगामी फागुन २१ को निर्वाचनलाई नेपाली राजनीतिको निर्णायक मोडका रूपमा हेरिएको छ, जहाँ रास्वपाले आफ्नो संगठन विस्तार र जनमतलाई चुनावी परिणाममा बदल्ने कसरत गरिरहेको छ।