बारा–३ का टोल–टोलमा जनमतको आवाज, अग्रपंक्तिमा प्रमोद गुप्ता

कलैया , २४ माघ

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बारा निर्वाचन क्षेत्र नम्बर ३ मा जनमत पार्टीका उम्मेदवार प्रमोद गुप्ताले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्। “घर–घरको प्यार, यसपालि क्षेत्र–३ मा प्रमोद गुप्ता” भन्ने नारासहित उनले निरन्तर घरदैलो, भेला तथा जनतासँग प्रत्यक्ष भेटघाट कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाएका छन्।

शनिबार फेटा गाउँपालिका वडा नम्बर ७ अन्तर्गत गम्हरिया र कुकुरभुका टोलमा आयोजित घरदैलो तथा जनसम्पर्क कार्यक्रममा जनमत पार्टीको हर्न गुञ्जिँदा बारा–३ का टोल–टोलमा चुनावी माहोल तातिएको देखिन्थ्यो। स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै उम्मेदवार गुप्ताले जनताको समस्या, अपेक्षा र सुझावहरू ध्यानपूर्वक सुनेका थिए।

भेटघाट कार्यक्रममा बोल्दै प्रमोद गुप्ताले बारा–३ मा वर्षौंदेखि अधूरा रहेका विकास निर्माणका कामलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे। सडक, शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारी जस्ता आधारभूत आवश्यकतामा केन्द्रित योजना अघि सार्दै उनले विकास अब भाषण वा घोषणामा सीमित नरहने स्पष्ट पारे।

उनले जनमत पार्टीको मूल एजेन्डा सुशासन, पारदर्शिता र जवाफदेहिता रहेको उल्लेख गर्दै जनताको विश्वासलाई नै सबैभन्दा ठूलो पूँजी मानेर राजनीति गर्ने बताए। “जनताले दिएको माया र भरोसालाई कहिल्यै धोका दिने छैनौँ,” भन्दै उनले क्षेत्रको समग्र विकासका लागि जनताको साथ अपरिहार्य रहेको धारणा राखे।

घरदैलो अभियानका क्रममा स्थानीयवासीहरूले पनि उम्मेदवार गुप्तासँग खुलस्त रूपमा आफ्ना समस्या र गुनासा राखेका थिए। युवाहरूले रोजगारी, सीपमूलक तालिम र स्वरोजगारका अवसरको माग गरेका थिए भने वृद्धवृद्धाले स्वास्थ्य सेवा, सामाजिक सुरक्षा र सडक पूर्वाधारमा सुधार आवश्यक रहेको बताए।

बारा–३ मा जनमत पार्टीको सक्रियता, निरन्तर जनसम्पर्क र स्पष्ट विकास एजेन्डाले चुनावी सरगर्मी थप बढाएको छ। प्रमोद गुप्ताको घर–घरको पहुँच, सरल व्यवहार र जनतासँगको प्रत्यक्ष संवादले जनसमर्थन क्रमशः मजबुत बन्दै गएको स्थानीयहरूको प्रतिक्रिया छ।

Comments (0)
Add Comment