बारा–२ मा चन्दन सिंहको ‘विकास–केन्द्रित’ अभियान, स्थानीय तहमा सकारात्मक सन्देश

बारा, २५ माघ

प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा बारा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार चन्दन कुमार सिंहले विकास र सुशासनलाई केन्द्रमा राख्दै आफ्नो चुनावी अभियानलाई थप तीव्र बनाएका छन्। उनले निरन्तर घरदैलो, भेला, भेटघाट तथा जनसम्पर्क कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रको समग्र विकासका लागि स्पष्ट योजना र प्रतिबद्धता प्रस्तुत गरिरहेका छन्।

देवताल गाउँपालिका, सुवर्ण गाउँपालिका, पचरौता नगरपालिका, करैयामाई गाउँपालिका लगायत बारा–२ का विभिन्न स्थानमा आयोजित चुनावी भेटघाट कार्यक्रममा उम्मेदवार सिंहले वर्षौंदेखि अधुरो अवस्थामा रहेका विकास निर्माणका कामहरूलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने दृढ अठोट व्यक्त गरेका छन्। उनले निर्वाचित भएलगत्तै ती योजनाहरू कार्यान्वयनको चरणमा लैजाने र विकास अब भाषण, घोषणा वा कागजमा सीमित नरहने स्पष्ट पारेका छन्।

चुनावी सभाहरूमा बोल्दै सिंहले देश सञ्चालन अत्यन्तै गम्भीर, संवेदनशील र जिम्मेवारीपूर्ण कार्य भएको उल्लेख गरे। अनुभव, इमानदारी र स्पष्ट दृष्टिकोणबिनाको नेतृत्वले मुलुकलाई सही दिशामा अघि बढाउन नसक्ने भन्दै उनले मतदातालाई सचेत र विवेकशील निर्णय गर्न आग्रह गरे।

“राष्ट्र निर्माण कुनै प्रयोगशाला होइन,” भन्दै उनले देश र क्षेत्रको भविष्यलाई प्रयोगको विषय नबनाई सक्षम, जिम्मेवार र परिपक्व नेतृत्व चयन गर्नुपर्ने धारणा राखे।

उम्मेदवार सिंहले आफ्नो चुनावी एजेन्डामा सडक सञ्जालको विस्तार, गाउँ–गाउँसम्म पहुँच पुग्ने पूर्वाधार निर्माण, स्थानीय उद्योग स्थापना, रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्र मजबुत बनाउने विषयलाई विशेष प्राथमिकतामा राखेको जानकारी दिए। यसले युवालाई वैदेशिक रोजगारीतर्फ धकेलिनु पर्ने बाध्यता कम हुने र स्वदेशमै सम्मानजनक अवसर सिर्जना हुने विश्वास उनले व्यक्त गरे।

“विकासका सपना साकार पार्न जनताको साथ अपरिहार्य छ,” भन्दै सिंहले जनताले राखेका अपेक्षाहरू आफू निर्वाचित भएपछि व्यवहारमै पूरा गर्ने प्रतिबद्धता जनाए। उनले पारदर्शिता, जवाफदेहिता र सुशासनमार्फत क्षेत्रको दीर्घकालीन विकास सुनिश्चित गर्ने दाबी पनि गरे।

बारा–२ का विभिन्न स्थानमा भइरहेको चुनावी कार्यक्रमहरूमा स्थानीयवासीको उल्लेखनीय सहभागिता देखिन थालेको छ। उम्मेदवार सिंहको सक्रियता, सरल प्रस्तुति शैली र विकासप्रतिको स्पष्ट दृष्टिकोणले जनतामा सकारात्मक सन्देश प्रवाह भएको स्थानीयहरूको प्रतिक्रिया छ। अभियानसँगै जनसमर्थन क्रमशः थप सुदृढ बन्दै गएको उनीहरूको भनाइ छ।

Comments (0)
Add Comment