रौतहटमा बालिकाको मृत्युमा जेनजी मुभमेन्ट एलायन्स द्वारा तत्काल छानबिन र कडा कारबाहीको माग

रौतहट, २६ माघ

रौतहटको ईशनाथ नगरपालिका–४, मठिया टोलमा रास्वपा पार्टीका उम्मेदवारको गाडीले ठक्कर दिंदा ४ वर्षीय बालिका अल्फा खातुनको मृत्यु भएको घटनामा जेनजी मुभमेन्ट एलायन्सले तत्काल छानबिन सुरु गर्नुपर्ने माग गरेको छ।

एलायन्सले आइतबार जारी विज्ञप्तिमा घटनामा संलग्न फरार उम्मेदवार र चालकलाई तुरुन्त नियन्त्रणमा लिएर कानुनी कारबाही अघि बढाउन सरकारसँग आग्रह गरेको छ। विज्ञप्तिमा भनिएको छ, “घटना लगत्तै गाडीमा सवार उम्मेदवार तथा चालक फरार हुनु, पीडित परिवारसँग कुनै मानवीय संवेदना नदेखाउनु र घटनालाई सामान्य बनाउने प्रयास गर्नु गम्भीर र निन्दनीय विषय हो। कानुनभन्दा माथि कोही छैन भन्ने संवैधानिक मान्यतालाई यस घटनाले पुनः चुनौती दिएको छ।”

एलायन्सका प्रतिनिधिहरूले पीडित परिवारको पक्षमा न्यायोचित क्षतिपूर्ति सुनिश्चित गर्न, दीर्घकालीन सामाजिक सुरक्षा र निःशुल्क कानुनी सहयोग प्रदान गर्न सरकारसँग आग्रह गरेका छन्। उनका अनुसार यस प्रकारको दुर्घटनामा छिटो र निष्पक्ष छानबिन नगरेको खण्डमा न केवल पीडित परिवार अप्ठ्यारोमा पर्नेछ, बरु कानुनको सम्मान र समाजमा विश्वास समेत कमजोर हुनेछ।

स्थानीयहरूले पनि घटनामा राजनीतिक प्रभाव र दबाबको आशंका व्यक्त गरेका छन्। बालिकाको मृत्युपछि क्षेत्रीय जनसाधारणमा आक्रोश फैलिएको छ। घटनास्थलमा उपस्थित केही स्थानीयले प्रहरी प्रशासनको तत्परतामा प्रश्न उठाउँदै दोषीलाई तुरुन्त न्यायको दायरामा ल्याउन माग गरेका छन्।

जेनजी मुभमेन्ट एलायन्सले यस घटनालाई “राजनीति वा प्रभावको नाममा बालिका जीवनको उपहास” भएको आरोप लगाउँदै निष्पक्ष, कडा र छिटो कारबाहीको माग जारी राखेको छ। उनीहरूले चेतावनी दिएका छन्—यदि दोषीलाई कानुनी रूपमा जिम्मेवार ठहराउने कदम नचालिएमा सामाजिक आन्दोलन र आवाज उठाउने क्रम जारी रहनेछ।

Comments (0)
Add Comment