रौतहट , ०२ फागुन
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा रौतहट क्षेत्र नं ४ को राजनीतिक माहोल तातेको छ।
जिल्लाको क्षेत्र नं ४ मा चुनावी प्रतिस्पर्धा दिनप्रतिदिन रोचक बन्दै गएको हो । नयाँ र पुराना दलका उम्मेदवार बीच कडा भिडन्तको अवस्था रहे पनि जनता समाजवादी पार्टी नेपालका उम्मेदवार राजकुमार दास आक्रामक चुनावी अभियानका साथ मैदानमा देखिएका छन्।
घरदैलो तथा भेटघाट र साना–ठूला सभामार्फत दासले आफ्नो पक्षमा माहोल बनाउने प्रयास तीव्र पारेका छन्। समर्थकहरूले उनलाई युवा ऊर्जावान र स्पष्ट धारणा राख्ने नेताका रूपमा प्रस्तुत गरिरहेका छन्। स्थानीय मुद्दा सदनमा सशक्त रूपमा उठाउने प्रतिबद्धता उनले दोहोर्याउँदै आएका हुन् ।
रौतहट–४ मा नेपाली कांग्रेसका देवप्रसाद तिमल्सिना, नेकपा एमालेका रामजी साह, कम्युनिस्ट धारबाट रामकुमार भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल र आम जनता पार्टीका ऋषि धमला प्रतिस्पर्धामा छन्। बहुपक्षीय प्रतिस्पर्धाका कारण मत विभाजनको सम्भावना बलियो देखिएको हो ।
गाउँ–गाउँमा घरदैलो अभियान कोणसभा र शक्ति प्रदर्शन बढेका छन्। यसपटकको चुनाव सामान्य प्रतिस्पर्धा मात्र नभई पुराना स्थापित शक्ति र उदाउँदो नेतृत्वबीचको निर्णायक भिडन्तका रूपमा हेरिएको हो ।
जनता समाजवादी पार्टी नेपालका उम्मेदवार राजकुमार दास चुनावी मैदानमा सक्रिय रूपमा उत्रिएका छन्। युवा पुस्तामाझ उनको उपस्थिति बलियो देखिएको हो । समर्थकहरूले उनलाई स्पष्ट वक्ता जनताको मुद्दा सशक्त रूपमा उठाउने र मैदानमा खटिने नेताका रूपमा प्रस्तुत गरिरहेका छन्।
दासले रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारलाई मुख्य एजेन्डा बनाएका छन्।
स्थानीय स्तरमा बेरोजगारी, वैदेशिक पलायन, कृषि उत्पादनको समस्या, सिंचाइ अभाव, सडक पूर्वाधार र स्वास्थ्य सेवाको गुणस्तर मुख्य चुनावी बहस बनेका छन्। युवापुस्ताको निर्णायक भूमिका रहने विश्लेषण गरिएको हो ।
बहुपक्षीय प्रतिस्पर्धाका कारण मत विभाजन हुने सम्भावना बलियो छ। अन्तिम समयमा हुने गठजोड रणनीति र मतदाता परिचालन नै परिणामको मुख्य आधार बन्न सक्ने देखिएको हो ।
क्षेत्र नं ४ मा यस पटकको निर्वाचनले केवल प्रतिनिधि छनोट मात्र नभई क्षेत्रको राजनीतिक दिशासमेत तय गर्ने अपेक्षा गरिएको हो ।
अन्तिम निर्णय भने मतपेटिकाले दिनेछ। फागुन २१ गतेपछि मात्रै कसले बाजी मार्ने स्पष्ट हुनेछ।