गरिबलाई आवास, भूमिहीनलाई जमिन दिने प्रतिबद्धता सहित विजय यादव सक्रिय

रूपेश यादव

रौतहट, ०२ फागुन

आम जनता पार्टीका बारा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विजय यादव (‘निर्विज’) ले गरिब, दलित तथा भूमिहीन समुदायको जीवनस्तर सुधार गर्ने स्पष्ट एजेन्डासहित चुनावी अभियानलाई तीव्र बनाएका छन्।

शुक्रबार बारा गढी गाउँपालिकाको मलाही र दौर्वा गाउँमा आयोजित घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा सहभागी हुँदै उनले जनताको वास्तविक समस्या सुन्दै “गरिबलाई आवास र भूमिहीनलाई जमिन” दिने प्रतिबद्धता दोहोर्‍याए। यादवले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि उत्पादन, सिँचाइ, सडक, युवा स्वरोजगार र स्थानीय विकासलाई प्राथमिकतामा राखेर जनमुखी सरकार निर्माण गर्ने बताए।

कार्यक्रमका क्रममा उनले किसानका पीडा, बेरोजगारी र गरिबीका मुद्दा संसदमा प्रभावकारी रूपमा उठाउने दृढ संकल्प व्यक्त गरे। स्थानीय मतदाताले घरदैलो कार्यक्रमलाई सकारात्मक रूपमा लिँदै जनताको मुद्दा उठाउने उम्मेदवारलाई समर्थन गर्ने प्रतिक्रिया दिएका छन्।

आजपा उम्मेदवार यादवले “अबकी बार जनता सरकार” नारासहित परिवर्तनको राजनीतिक अभियानलाई जनस्तरसम्म पुर्‍याउँदै जनसमर्थन विस्तार भइरहेको जानकारी दिए।

Comments (0)
Add Comment