कलैया , ०७ फागुन
बारा जिल्ला निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत कलैया उपमहानगरपालिका वडा नं. २७ को बारवा परता क्षेत्रमा आयोजना हुन गइरहेको महायज्ञको अवसरमा निकालिएको जल यात्रामा सहभागी भक्तजनहरूलाई जनमत पार्टी बाराको तर्फबाट फलफूल तथा खानेपानी वितरण गरिएको छ।
धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र सेवाभावको सन्देश बोकेको उक्त जल यात्रामा जनमत पार्टीका नेताहरू तथा कार्यकर्ताहरू सक्रिय सहभागिता जनाउँदै श्रद्धालुहरूलाई आवश्यक सामग्री उपलब्ध गराएका थिए। कार्यक्रममा मधेश प्रदेशका खेलकुद तथा सामाजिक विकास मन्त्री बसन्त कुशवाहा, क्षेत्र नं. ३ का उम्मेदवार प्रमोद गुप्ता, पार्टी नेता शिवनाथ पटेल, पूर्व माननीय पारस प्र साह, साथै सन्तोष पटेल र राजदेव ठाकुर लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमका क्रममा मन्त्री कुशवाहाले धार्मिक कार्यक्रमहरू समाजलाई एकताबद्ध बनाउने माध्यम भएको उल्लेख गर्दै यस्ता अवसरमा जनताको सेवामा उपस्थित हुनु पार्टीको सामाजिक दायित्व भएको बताए। उम्मेदवार प्रमोद गुप्ताले स्थानीय धार्मिक–सांस्कृतिक गतिविधिमा निरन्तर सहकार्य गर्दै जनताको सुख–दुःखमा साथ दिने प्रतिबद्धता व्यक्त गरे।
जल यात्रामा ठूलो संख्यामा श्रद्धालुहरूको सहभागिता रहेको थियो। जनमत पार्टी बारा जिल्ला समितिले आगामी दिनहरूमा पनि यस्ता धार्मिक तथा सामाजिक कार्यक्रमहरूमा सक्रिय भूमिका निर्वाह गर्दै जनसेवामूलक गतिविधि निरन्तरता दिने जनाएको छ।